पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो 

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो 

वीरगञ्ज, ५ जेठ । पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपिने भएको छ । जिल्ला संकट व्यावस्थापन केन्द्र पर्साको बुधबार बसेको बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ ।

बैठकले जेठ १३ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा समुदायस्तरमै फैलिएपछि वैशाख १६ गतेदेखि पर्सामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप गरिएको समयअनुसार निषेधाज्ञाको समय बिहीबार मध्यराति सकिंदैछ । 

यस्तै मेडिकल अक्सिजनको प्रयोग र प्राथमिकताको आधारमा जिल्लास्थित अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।पर्सामा बुधबारसम्मको तथ्यांक अनुसार १ हजार ७९४ जना सक्रिय संक्रमित छन् ।

पहिलो चरणमा ५५ जनासहित कोरोना संक्रमणबाट जिल्लामा १४६ जनाको मृत्यु भइसकेको छ । अन्य जिल्ला घर भई पर्सामा मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।