पर्साको ठोरीमा पाटे बाघले सात चौपाया मार्यो
वीरगन्ज, ७ चैत । पर्साको ठोरीमा पाटे बाघले सातवटा चौपाया मारेको छ । सोमबार राति ठोरी गाउँपालिका वडा नम्बर ४, घ्याङडाँडाका किसान मिकमार लामाको घरगोठमा पसेर बाघले एउटा वयस्क भैंसीको पाडा र ६ ओटा बाख्रा मारेको पीडित किसान लामाले बताउनुभयो ।
पाटे बाघले चौपाया मारेर ठोरीका किसान मिकमारको खोर नै रित्याएको छ । बाघले आक्रमण गरेको लामाको घरगोठ ठोरी गाउँपालिका कार्यालय अगाडि रहेको छ । राष्ट्रिय निकुञ्जबाट मानववस्तीमा आएको बाघ राति घरमा सुतिरहेको बेलामा एक्कासी गोठमा पसेर भैंसीको पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले बाघ आएको चाल पाएका थिए ।
त्यसपछि होहल्ला गरेर गाउँलेलाई बोलाएका थिए । रातिको समयमा भेला भएका स्थानीयले समेत बाघ धपाउदाँ समेत बाघले बाख्रा सहित सातवटा चौपाया मारिदिएको छ । बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी लगायतको सहयोगले बिहान करीब ४ बजेमात्र बाघलाई जङ्गल धपाइएको पीडित किसान लामाले बताउनुभयो ।
बाघको आक्रमणबाट चौपाया मारेपछि लामालाई करीब १ लाख भन्दा धेरै क्षति पुगेको छ । बाघ फेरि गाउ पस्ने डरले घ्याङडाँडाका स्थानीय बासी त्रसित भएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको छेउमा रहेको ठोरीवासीलाई वन्यजन्तुको सधैं त्रास रहने गरेको छ । निकुञ्जमा घाँसे मैदानको व्यावस्था भएपछि बाघको आहारा पनि सहजै पाईने भ्एकोले बाघको संख्या समेत बढ्दै गएको छ । जंगलमा बाघको संख्यामा भएको वृद्धिले निकुञ्ज छेउको वस्तीमा भने जोखिम बढेको छ ।