नेपाली कांग्रेसको ठोरी गाउँपालिकामा मतदान सकियो, वीरगन्ज महानगरपालिकामा पटक पटक विवाद
वीरगन्ज, १४ फागुन । नेपाली कांग्रेस पर्साको आज भईरहेको गाउँ, नगर र महानगरको निर्वाचन अन्तर्गत ठोरी गाँउपालिकाको मतदान सकिएको छ । केहीबेर अघि सकिएको मतदानमा ७९ मत खसेको छ । ८० मतदाता रहेको ठोरीमा एकजना अनुपस्थित भएको छ ।
ठोरी गाउँपालिकाको सभापतिमा सन्तोष श्रेष्ठ र रामकृष्ण पन्तको उम्मेदवारी परेको छ । गाउँपालिका समितिको ३२ जनाको कार्यसमितिका लागि सन्तोष श्रेष्ठको प्यानलले सबै पदमा र रामकृष्ण पन्तको प्यानलले सम्पुर्ण पदाधिकारी सहित १९ वटा पदमा मात्र उम्मेदवारी दिएको छ । १४ जना सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् । पर्सा जिल्लाका बाँकी ९ पालिकामा भने काँग्रेसको सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
यस्तै वीरगन्ज महानगरपालिकामा भएको मतदानमा पटक पटक विवाद भएको । मध्यान्ह १२ बजेदेखि मात्रै ढिलो गरी भएको मतदानमा पटक पटक विवाद भएपछि झन ढिलो भएको छ । अहिलेसम्म झण्डै ४० भोट मात्रै खसेको अनुमान गरिएको मतदान स्थलमा सहभागीहरुले बताएका छन् ।
वीरगन्ज महानगरको काँग्रेस सभापतिको लागि राधेश्याम चौरसीया, पत्रकार दिपेन्द्र चौहान र मणिन्द्रलाल नेपाली गरि ३ जना चुनावी प्रतिस्पर्धा छन् । चौरसीया र नेपालीले आ–आफनो प्यानल बनाएर उम्मेदवारी दिनु भएको हो ।
चौरसीया, काँग्रेस केन्द्रिय सदस्य रमेश रिजाल र अजय चौरसीया निकट हुनुहुन्छ भने सभापतिका अर्का उम्मेदवार नेपाली, जिल्ला सभापति अजय द्धिवेदी र पुर्व जिल्ला सभापति राजेन्द्र बहादुर अमात्य निकट हुनुहुन्छ । चौहानले भने बिना प्यानल सभापतिमा आफनो मात्रै उम्मेदवारी दिनु भएको हो ।
चौरसीयाको प्यानलबाट दुइ पदको उपसभापतिमा विजय सिंह र सरजुग महत्तो, दुइ पदको सचिवमा धिरज गुप्ता र श्याम कुमार प्रसाद कुर्मी तथा दुइ सहसचिवमा दिपक कुमार साह र सज्जाद हुसेनले उम्मेदवारी दिनु भएको छ ।
यसैगरि नेपालीको प्यानलबाट उपसभापतिमा सन्तोष गुप्ता र वीर भुषण पटेल, सचिवमा सन्जय श्रीवास्तव र शीवचन्द्र प्रसाद यादव तथा सहसचिवमा जइन्द्र पटेल र शम्शाद अलीको उम्मेदवारी परेको छ । काँग्रेस वीरगन्ज महानगरको अधिवेशनमा ५ सय २६ जना मतदाता रहेको काँग्रेस महनगर समितिले जनाएको छ ।