आम जनताको पीडाको आवाज बनेर आएको छु : द्विवेदी
वीरगञ्ज, ४ कार्तिक । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले वीरगन्जका जनताको लागि विद्रोह गरेर उम्मेदवारी दिएको बताउनु भएको छ । चुनावी महासंग्राम कार्यक्रममा बोल्दै उम्मेदवार द्विवेदीले अहिले देखिएको बेथिति, गठबन्धनको नाममा लोकतन्त्र र आम जनतालाई बन्धक बनाउने गलत राजनीतिलाई भत्काउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘जनताको मत दिने अधिकार खोसेको छ । त्यसलाई तोड्नुछ । आमजनताले चाहेपछि कुनै गठबन्धनको नौटंकी टिक्दैन । जनता भन्दा माथि कोही छैन । मैले गल्ती गरेको भए आत्मग्लानी हुने थियो । तर, पीडा छ । नेपाली कांग्रेसमा निष्ठाको राजनीति गरेर स्वतन्त्र उम्मेदवारी दिनुपर्दा मनमा पीडा छ । मेरो आवश्यकता र बाध्यता दुवै हो ।’
दलीय व्यावस्थामा दलको विकल्प दल नै भएपनि विचार र सिद्धान्तले राजनीतिक दलहरु च्युत भएको बताउनुभयो । स्वतन्त्रहरु व्यक्ति नभई आम जनताको प्रतिनिधि रहेको उहाँको भनाई थियो । उहाँले आम जनता डेंगुको महामारीमा रहेको अवस्थामा देशको आर्थिक अवस्था संकटमा परेको बेला कुनैपनि स्वास्थ्य विज्ञ तथा अर्थविदहरुसँग बसेर समाधानका लागि छलफल नगर्ने र जनताको लागि ल्याएको लोकतन्त्रमा दलीय सिण्डिकेट लगाएर जनतालाई बन्धक बनाएको बतउानुभयो ।
दलले जनतालाई विर्सिएको बताउदै उहाँले जनता जागेकोबेला जनताले दललाई नबिर्सिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अजय द्विवेदीलाई दुईचार पटकको निर्वाचनमा टिकट नपाएपनि केही फरक पर्ने थिएन । तर, यसपटक पर्सा क्षेत्र नम्बर १ मा जनताको विकल्प थिएन । त्यसैले मेरो उम्मेदवारी जनताको विकल्पका लागि हो ।’