नेकपा (एस) को प्रदेशहरुमा संसदीय दलको नेता चयन
प्रदेश १ मा राजेन्द्र राई, २ मा शत्रुधन महतो, बाग्मतीमा राजेन्द्र पाण्डे
वीरगन्ज, २८ भदौ । नेकपा एकीकृत समाजवादीको प्रदेश संसदीय दलको नेता चयन गरेको छ । निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो ।
एकीकृत समाजवादीको आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले प्रदेश १ मा राजेन्द्र राईलाई प्रदेसभा संसदीय दलको नेता चयन गरेको छ । यस्तै प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतोलाई चयन गरेको छ ।
महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित हुनुभएको थियो । प्रदेश २ मा संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतकपछि चयन गरिने पार्टीका सांसद अशोक कुमार यादवले जानकारी दिनुभयो ।
नेकपा एमालेबाट अलग भएर छुट्टै बनेको नेकपा एकीकृत समाजवादीको १३ जना सांसद छन् । १३ जना सांसद एकीकृत समाजवादीमा आउँदा नेकपा एमालेका ८ सांसद मात्रै छन् । यस्तै नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन हुनुभएकोछ ।
यसैगरी प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन हुनु भएको छ । सोमबार हेटौंडामा बसेको एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले उहाँरुलाई चयन गरेको हो ।
यस्तै बागमतीमा गठबन्धन सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसँग समन्वय गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिने पनि बैठकले निर्णय गरेको छ ।
गठबन्धन सरकार निर्माण भएपछि प्रदेश सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि माधवप्रसाद पौडेल, वसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।
प्रदेशसभा संसदीय दलको नेता चयनसँगै अब प्रदेशहरुमा पनि ओली पक्षको सरकार ढल्ने निश्चित भएको छ ।