पर्सा क्षेत्र नम्बर २ (ख) बाट रुपेशमानको स्वतन्त्र उम्मेद्वारी 

पर्सा क्षेत्र नम्बर २ (ख) बाट रुपेशमानको स्वतन्त्र उम्मेद्वारी 

वीरगञ्ज, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्यमा समाजसेवी एवं युवा नेता रुपेशमान सिंह श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । पर्साको क्षेत्र नम्बर २ (ख) बाट श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको हो ।  

उम्मेद्वारी दर्ता गर्दै श्रेष्ठले कसैको दवाबमा नपरी स्वतन्त्र भएर जनताको काम गर्न आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको प्रतिकृया दिनुभयो । आफू सबैको साझा उम्मेद्वार भएको भन्दै उहाँले कुनै पनि दल र गठबन्धनमा नलागी स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो ।  

उम्मेद्वारी दर्ता गराउन श्रेष्ठ दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका श्रेष्ठ समाजसेवाका साथै सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय रहनु भएको छ । वीरगञ्ज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगञ्जकै पुरानो मध्येको त्रिजुद्ध माद्यमिक विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशकदेखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ ।

विभिन्न क्षेत्रमा काम गरेको अनुभवी युवा नेता श्रेष्ठले प्रदेश सभा सदस्यमा आफूहरु जस्तै सक्रिय युवाहरुको आवश्यकता रहेकाले आउँदो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो । श्रेष्ठले निर्वाचन क्षेत्रका अग्रज नेता, युवा साथीहरुको आफू प्रति ठूलो सद्भाव रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।