किशोरी सशक्तिकरण कार्यक्रमको स्वामित्व स्थानीय सरकारले लिनुपर्नेमा जोड
वीरगन्ज, २७ मंसिर । किशोरी सशक्तिकरण परियोजनालाई अब स्थानीय तहले स्वामित्व लिएर कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
भिएसओ नेपालको सहयोगमा दिव्य युवा क्लबले सञ्चालन गरेको ‘किशोरी सशक्तिकरणका लागि शिक्षा’ कार्यक्रमको जिल्ला परियोजना सल्लाहाकार समितिको समिक्षा एवं समापन चरण कार्यक्रममा हिजो बोल्ने सरोकारवाला व्यक्तिहरुले यस्तो बताएका हुन् ।
समिक्षा तथा चरण समाप्ती कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले सरकारले बनाएको नीति अनुसार नै गैर सरकारी संस्थाहरुले गरेको कार्यक्रमहरु उपलब्धीपूर्ण भएको र यसलाई निरन्तरता दिनका लागि आवश्यक पहल र सहयोग रहने बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले दिव्य युवा क्लबले सञ्चालन गरेको किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमले सरकारको शिक्षा नीतिमा महत्वपूर्ण भूमिका खेलेको र यस्ता संस्थाहरुको तीनवटै तहको सरकारलाई सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रम परियोजनाका कार्यक्रम संयोजक गणेश ठकुरीले परियोजनाले हाससम्म सम्पन्न गरेको कार्यक्रम र त्यसबाट प्राप्त उपलब्धीहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै परियोजनामा खटिएका स्वयंसेवक ठूलीदिदीहरुले आफूले गरेका कामको अनुभव र हासिल गरेका उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए ।
दृष्टिविहिन विद्यार्थी शिवचरण चौधरीले दिव्य युवा क्लबले सञ्चालन गरेको कार्यक्रमले आफूले धेरै कुरा सिक्न पाएको बताउदै गाउँघरमै धूलोमैलोमा खेलेको अवस्थामा संस्थाले वीरगन्ज ल्याएर आवासीय विद्यालयमा शिक्षा दिएर भविष्य उज्यालो पार्ने काम गरेको बताउनुभयो ।
दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विहारी महतो लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिपको महिला विकास शाखाकी प्रमुख रञ्जना पण्डित, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रकी प्रहरी निरीक्षक मनिषा लौडारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।