सिन्धुपाल्चोकलाई प्राकृतिक प्रकोपको पीडा, ६ बर्षदेखि लगातार बाढी पहिरो र भूकम्पबाट पीडित
काठमाडौं, २ असार। नेपालको पहाडी भूभागमा रहेको सिन्धुपाल्चोक ६ बर्षदेखि लगातार प्राकृतिक विपदको पीडा बेहोर्नु परिरहेको छ । कहिले बाडी पहिरोले कहिले भूकम्पले गर्दा सिन्धुपाल्चोक पूरा थिलथिलो बनेको छ । यसबर्ष जेठ २८ गते प्रवेश गरेको मनसुनसँगै असार १ गते आएको बाढीले पनि सिन्धुपाल्चोकमा बितण्डा मच्चाएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले चारवटा पक्की पुल पनि बगाएको छ ।
मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो । बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पुर्याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।् रेडियो मेलम्चीको भवन पूरै डुवानमा परेको छ । बजार क्षेत्रमा लेदोसहितको बाढी पसेको छ ।
बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति गरेको छ । तटीय क्षेत्रमा रहेका ट्राउट माछा फार्म बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार बाढी प्रभाबित क्षेत्रका ४ जना व्यक्ति बेपत्ता छन् । तर, स्थानीयले भने त्योभन्दा धेरै संख्यामा मानिसहरु सम्पर्कमा नआएका बताएका छन् । झण्डै ५० जना बेपत्ता भएको अनुमान गरिएको छ । यसको पुष्टि भने भएको छैन ।
सिन्धुपाल्चोकमा २०७१ सालयता भएका प्राकृतिक विपत्तिका मुख्य मुख्य घटना
- २०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भयो । घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १५३ घर पूर्णरूपमा क्षति पुग्यो ।
- २०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो । भूकम्पले १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्णरुपमा क्षति भयो ।
- २०७३ असार २१ गतेको भोटेकोशी नदीको बाढीले लिपिङ बजारका ३० घर बगायो । तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो । अरनिको राजमार्ग बन्द भयो ।
- २०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद भयो । अरनिको राजमार्ग पनि अबरुद्ध भयो ।
- २०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो । पहिरोले २२ घरमा लेदो माटो पस्यो, १२ घर जोखिममा परे ।
- २०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो भने १७ जना वेपत्ता भए । २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भयो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो भने तीन जना बेपत्ता भए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो । लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेका दुईवटा पक्की पुल पनि क्षतिग्रस्त भए ।
- २०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त भए ।
- २०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो । सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।
- २०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिए । बलेफी-कात्तिके सडक अबरुद्ध भयो । सयौं रोपनी धानखेत बगायो ।
- २०७७ साउन ३० बिहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनालाई मृत घोषणा ।
- २०७८ साल असार १ गते साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुग्यो । नदी तटीय क्षेत्रबाट धेरै मानिस सम्पर्क विहीन भएको स्थानीयको भनाइ छ । यद्यपि प्रहरीले यसको पुष्टि गर्न बाँकी छ । मेलम्ची (ईन्द्रावती)को बाढीले मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ ।