वीरगन्जमा होली छिटफुट घटना बाहेक शान्तिपूर्ण, मासुको बढी मूल्य लिने ९ जना पक्राउ
वीरगन्ज, ४ चैत्र । तराई मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइने होली पर्व शुक्रबार वीरगन्जमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मनाईएको छ । होलीमा मदिरा सेवन गरेर सामान्य झगडा गर्ने । ट्राफिक नियम उलंघन गर्ने बाहेक शान्तिपूर्ण नै भएको पर्साका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
विगतका दिनहरुमा होलीमा मदिरा सेवन गर्ने र झैझगडा गर्ने घटनाहरु हुने गरेको भएपनि यसपटक त्यस्ता घटनाहरु खासै नभएको खनालले बताउनुभयो । होलीको मौका छोपेर माछामासु व्यावसायीहरुले आपूmखुशी मूल्य लिने गरेको उपभोक्ताले गुनासो आएपछि प्रहरीले अनुगमन गरेर विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ परेको छ ।
वीरगन्ज महानगरपालिका भित्र विक्री वितरण गर्ने माछामासु व्यावसायीहरुले आफूखुशी मूल्य बढाएर खसीको मासु एघार सय रुपैंया लिएको उपभोक्ताको गुनासो गरेका थिए । चाडपर्वको समयमा सरकारी संयन्त्रकोे अनुगमन नहुँदा माछामासु व्यवसायीहरुले आफूखुशी खसीको मासु एघार सय रुपैंया लिन थालेको वीरगन्ज १० का स्थानीय मनोहर साहले बताउनुभयो ।
होलीमा माछामासुको खपत बढी हुने भएकोले पनि यहि मौका छोपेर व्यावसायीहरुले आपूmखुशी मूल्य लिने गरेको गुनासो प्रहरीकोमा आएपछि प्रहरीले मासु पसलहरुमा अनुगमन गरेर ९ जनालाई पक्राउ गरेको हो । त्यस्तै बसपार्क लगायतका विभिन्न स्थानमा मदिरा सेवन गरेर झगडा गर्ने चारजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मदिरा सेवन गरेर ट्राफिक नियम उल्लंघटन गरी चलाएका ५० वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । त्यस्तै एउटा चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ पनि गरेको छ ।
यसैबीच माछामासु व्यावसायीहरुले भने मासु बढी मूल्य नलिएको दावी गरेका छन् । ग्राहकले नै धेरै बोसोयुक्त मासु लिन नमान्ने र उनीहरु आफैले सय, पचास रुपैंया बढी दिएर मासु रोजेर लाने गरेको बताउछन् । वीरगन्ज मछामासु व्यवसायी संघका सचिव ग्याँसु मियाँ देवानले व्यावसायीहरुले मूल्य नबढाएको बताउनुभयो ।
उहाँले हरेक बर्ष होलीमा मात्रै मासुको मूल्य बढाउने परिपाटीले उपभोत्ताहरुमा पनि सन्देश नराम्रो जाने गरेकोले यसबर्ष होलीमा माछामासुको मूल्य वृद्धि नगरिएको बताउनुभयो । यसपटको होलीमा माछामासु व्यवसायी संघको मूल्य बढाउने कुनै निर्णय नभएको तर, ग्राहकले आपूmखुशी रोजेको मासु लानका लागि सय पचास बढी दिने गरेको मियाँको दावी छ ।