आजदेखि नवरात्र शुरु, वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाई लगायत देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको घुईँचो
वीरगन्ज, १० असोज । हिन्दु धर्मावलम्वीहरुको महानपर्व बडादशैं शुरु भएको छ । घटस्थापनामादेखि नौ दिनसम्म विभिन्न शक्तिस्वरुपा देवीहरुको पूजागरि मनाईने नवरात्री आजदेखि शुरु भएको छ । सोमबार (आज) वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिर लगायत देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको घुईचो लागेको छ ।
वीरगन्ज महानगरका विभिन्न स्थानमा स्थापना गरिएका देवी दूर्गाको मन्दिरहरुबाट कलश यात्रा गरिएको छ । कलशमा जल लिएर वीरगन्जको गहवामाई मन्दिर पुगेर जल चढाई पुनः दूर्गाको मन्दिर स्थापना गरिएको स्थानमा पुगेर जलयात्रा विसर्जन गर्ने गरिएको छ । वीरगन्जको लक्ष्मणवा, पिपरा, गहवा, नगवा, घण्टाघर लगायतका स्थानमा स्थापना गरिएको दूर्गा मन्दिरबाट हजारौं स्थानीय भक्तजनहरुले वीरगन्जको मुख्य सडक र बजारमा जल यात्रा गरेका थिए ।
सोमबार घटस्थापनाको दिन बिहानै स्नान गरि घर र शक्तिपीठहरु वरिपरी ससरफाई गरी जौ, मकै, गहुँ लगायतको जमरा राख्ने गरिन्छ । आज जमरा राखेर नवमीको दिनसम्म विभिन्न शक्ति स्वरुपा देवीहरुको पूजाआजा गरी दशमीको दिन आफूभन्दा ठूलाबडा मान्यजनहरुबाट टिका थाप्ने र जमरा पनि शीरमा लगाई दिने प्रचलन छ । आज बिहान १० बजेर २३ मिनेटको समय जौंको जमरा राख्ने उत्तम साइतमा जमरा राखिएको छ ।
सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।
घटस्थापना गरिएको स्थानमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।