विपन्नलाई निःशुल्क भोजन गराउन वीरगन्ज महानगरद्वारा खाद्यान्न उपलब्ध गरायो 

विपन्नलाई निःशुल्क भोजन गराउन वीरगन्ज महानगरद्वारा खाद्यान्न उपलब्ध गरायो 

वीरगन्ज, १ जेठ । वीरगन्ज महानगरपालिकाले निःशुल्क भोजन गराईरहेका संघ संस्थाहरुलाई खाद्यान्न उपलब्ध गराएको छ । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना महामारी संक्रमणको साङलो तोड्नका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न गरिब परिवारलाई निःशुल्क भोजन गराउदै आएका संघ संस्थाहरुलाई खाद्यान्न उपलब्ध गराउनु भएको हो ।


उहाँले शुक्रबार महानगरपालिकामा निःशुल्क भोजन गराउन चाहने संघ संस्थाहरुलाई खाद्यान्न व्यावस्था गर्ने प्रतिवद्धता गरे अनुसार शनिबार महानगरपालिकामा निःशुल्क भोजन गराउदै आएका चारवटा संस्थालाई खाद्यान्नको व्यावस्था गरेको हो । महानगर प्रमुख सरावगीले सानो पाईला संस्थालाई २८ बोरा चामल, ३५ किलो दाल र २८ लिटर खानेतेल, इम्प्रुभिङ वीरगन्ज संस्थालाई ७ बोरा (१७५) किलो चामल, ३५ किलो दाल र ५० लिटर तेल हस्तान्तरण गर्नुभयो ।


त्यस्तै १०० ग्रुप नेपाल संस्थालाई १२५ किलो चामल, २५ किलो दाल र २१ लिटर खानेतेल तथा होटल रेलवे कटेजलाई ३० बोरा (७५० किलो) चामल, २ बोरा दाल र ६० लिटर खानेतेल उपलब्ध गराउनु भएको छ । वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा लागू भएपछि बिहान बेलुका ज्यालादारी गरेर छाकटार्ने गरिब विपन्नहरुलाई छाक टार्न समस्या हुन नदिन साहिब दरबार सेवा संस्था, रेल्वे कटेज लगायतले १० दिनदेखि निरन्तर निःशुल्क भोजन गराउदै आएका छन् ।


महानगरपालिकाले निःशुल्क भोजन गराउन इच्छुक संघ संस्थालाई खाद्यान्न उपलब्ध गराउने घोषणा गरेपछि शनिबार सानोपाईला, १०० ग्रुप्स र इप्रुभिङ वीरगन्जले पनि निःशुल्क भोजनको व्यावस्था गराउन महानगरपालिकाबाट खाद्यान्न लिएका छन् ।