विधेयक फिर्ता गरेको विरोधमा सत्तारुढ दल कांग्रेस र माओवादीको प्रदर्शन

विधेयक फिर्ता गरेको विरोधमा सत्तारुढ दल कांग्रेस र माओवादीको प्रदर्शन

वीरगन्ज, ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा सत्तारुढ दलहरुले वीरगन्जमा विरोध प्रदर्शन गरेका छन् । मंगलबार दिउँसो नेपाली कांग्रेसले वीरगन्जमा विरोध प्रदर्शन गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज विजय महतोको अध्यक्षमा वीरगन्जको घण्टाघरमा कोणसभा सम्पन्न भएको हो । कोणसभामा बोल्न वक्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनबाट पारित गरेर पठाएको विधेयक फिर्ता गरेर कुनै अमुक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको बताए ।

उनीहरुले राष्ट्रपति संविधानको रक्षक र राष्ट्रको अभिभावकीय भूमिकामा रहनुपर्नेमा अमुक पार्टीको नेताले जस्तो पूर्वाग्रही काम गर्न नहुने बताए ।  कोणसभामा नेकपा माओवादी केन्द्रका नेताहरु टेक बहादुर शाक्य, सलाउद्दीन अहमद, प्रभाकर गुप्ता, प्रभु यादव, इम्दाद गद्दी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चाल नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभबच्चन दासले गर्नुभएको थियो । यसैबीच नेपाली कांग्रेस पर्साले पनि दिउँसो विरोध जुलुस निकालेको छ । वीरगन्जको घण्टाघरबाट निकालिएको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेर पुनःघण्टाघरमा नै आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका उर्जा विकास तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, जिल्ला उपसभापति रामनारायण कुर्मी, महिला नेतृ रम्भा मिश्रा लगायतले सम्बोधन गरेका थिए ।