महोत्तरीबाट हराएका ७ जना किशोरी भारतीय प्रहरीको सम्पर्कमा आए
ट्रिब्यून न्युज
वीरगन्ज, १८ चैत । महोत्तरीको भंगहाबाट सम्पर्कविहीन भएका ७ जना किशोरीहरु भारतीय प्रहरीको सम्पर्कमा आएका छन् । भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना किशोरी हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।
उनीहरु भारत विहारको सितामढी प्रहरीको सम्पर्कमा आएको प्रदेश प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हराएका किशोरीहरु भारतको सितामढी प्रहरीको सम्पर्कमा रहेका छन् । नेपालबाट उनीहरुलाई लिने जाने तयारी भएको छ । किन र कसरी त्यहाँ पुग्यो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेका छौं ।”
हिजो मंगबबार दिउँसो झण्डै दुई बजे घाँस काट्न निस्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान सम्पर्क विहिन भएका थिए । हराएका सातै जना एउटै टोलका हुन् ।
उनीहरु हराएकोबारे प्रहरीमा खबर गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताउनुभयो । उहाँका अनुसार ‘घरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानियवासीले देखेका थिए ।