हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवास गृह स्थापना गरिने

हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवास गृह स्थापना गरिने

वीरगन्ज, २२ मंसिर । पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह स्थापना सरोकारवालाहरु एकजुट भएका छन् । एक्सन एड र आईरिस एडको सहयोगमा वीरगञ्जको कुमु होटलमा दिव्य युवा क्लबले आयोजना गरेको छलफलमा पर्सामा हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि सुरक्षित आवास गृह अत्यावश्यक रहेको र यसको स्थापनाका लागि सबै सरोकारवालाले भूमिका खेल्नुपर्ने बताए ।

जिल्लामा हिंसा प्रभावित महिला बालबालिकाका राख्न गैरसरकारी संस्थाहरुले अस्थायी आवास गृह सञ्चालन गरिरहेका छन् । महिला घरका सदस्यबाटै हिंसामा पर्ने हुँदा उनीहरुले कानुनी उपचार खोज्दा असहज हुने गरेकोले सुरक्षित आवास गृह एकदमै आवश्यक देखिएको महिला अधिकारकर्मी कोपिला चौलागाईले बताउनुभयो ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अन्र्तराष्ट्रिय अभियान अन्र्तगत आयोजना गरिएको कार्यक्रममा महिला अधिकार कार्यक्रम समुन्नती परियोजना मार्फत पालिका उपप्रमुख तथा अन्य सरोकारवालाबीच सुरक्षित आवास गृह स्थापनाका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यावस्थापन केन्द्र (ओसीएमसी) की स्रोत व्यक्ति हेमा थापाले पछिल्लो समयमा हिंसामा परेका महिलाहरुको संख्या बढ्दै गएको र अस्पतालमा पनि सुरक्षित आवासको व्यावस्था नभएकोले गैरसकारी संस्थाहरुले स्थापना गरेको अस्थायी सुरक्षित गृहमा राख्न आग्रह गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले अहिले स्थानीय तहको न्यायिक समितिले प्रभावकारी भूमिका खेल्न सके हिंसामा न्यूनीकरण हुने बताउदै स्थानीय तहका उपप्रमुखहरु महिला नै भएपनि हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउने सवालमा प्रभावकारी भूमिका नदेखिएको गुनासो गर्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमले सुरक्षित आवास गृह स्थापनाका लागि जग्गाको खोजी गर्ने बताउनुभयो । जग्गा भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर संघ र प्रदेश सरकारसँग पनि रकम माग गर्न सकिने उहाँको भनाई छ । बैठकले सुरक्षित आवास गृह स्थापनाका लागि पहल गर्न १५ सदस्यीय  समिति समेत गठन गरेको दिब्य युवा क्लबका कार्यक्रम अधिकृत रामाकान्त पटेलले जानकारी दिनुभयो ।

दिब्य युवा क्लबका अध्यक्ष उमेश चौहानले सुरक्षित आवास गृह स्थापनाका लागि आवश्यक पहल गर्न दिब्य बचत तथा ऋण सहकारी संस्थाबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।