प्याब्सन पर्साद्वारा विभिन्न कार्यक्रमको आयोजना, महानगर प्रमुख सहित शिक्षा उद्यमीहरु सम्मानित
वीरगन्ज, १५ कार्तिक । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । गण्डकस्थित होटल क्लार्कमा आयोजना प्याब्सन पर्साले साधारणसभाको बैठक सहित कोभिडमा ज्यान गुमाएका प्याब्सन पर्सामा आवद्ध व्यक्तिहरुप्रति श्रद्धाञ्जली तथा दीपावली र छठको शुभकामना आदान प्रदान पनि एकैपटक आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शिक्षा क्षेत्रमा देखिएको विकृतिको नियन्त्रण र शैक्षिक गुणस्तर सुधारका लागि निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साले गएराति आयोजना गरेको साधारसभा, सम्मान तथा श्रद्धाञ्जलीसभामा बोल्दै नगर प्रमुख सरावगीले राज्यले दिने सुविधाका लागि सरकारी विद्यालयमा भर्ना गरेर निजी विद्यालयमा विद्यार्थी पठाउने गरेको भन्दै त्यसलाई निरुतसाहित बनाउनुपर्ने बताउनुभयो ।
प्याब्सन वीरगन्ज महानगर अध्यक्ष आलोक चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा महानगर प्रमुख सरावगी सहित ८ जनालाई सम्मान गरिएको थियो । कोभिड महामारी संकटमा स्थानीय सरकारको हैसियतले उल्लेखनीय कार्य गरेको भन्दै महानगर प्रमुख विजय कुमार सरावगीलाई प्याब्सन पर्साले सम्मान गरेको हो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई पनि सम्मान गरिएको छ ।
त्यस्तै वीरगन्जको शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिएका र प्याब्स पर्साका संस्थापकहरु गौतम माविका संस्थापक निमा लामा, प्रिन्सिपल उर्मिला लामा, मणी पाख्रिन, लालबाबु कुर्मी, अर्जुन सम्शेर जबरा, दिपा योञ्जन, अञ्जली देवान, सञ्जु गिरी र श्रीवदन मल्ललाई सम्मान गरिएको प्याब्सन पर्साका सचिव छेडुप लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, अधिकृत हरि राउत, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, प्रेस सेण्टर पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्याब्सन वीरगन्ज महानगरका सचिव सनी पाख्रिनले गर्नुभएको थियो ।