वीरगन्जमै पहिलो पटक ‘क्रियाकलापमा आधारित सिकाई’ मस्कोट एकेडेमीले सिकाउदै

वीरगन्जमै पहिलो पटक ‘क्रियाकलापमा आधारित सिकाई’ मस्कोट एकेडेमीले सिकाउदै

वीरगन्ज, ३ बैशाख । वीरगन्जको रेशकोठीमा रहेको मस्कोट एकेडेमीले नयाँ शैक्षिकसत्र देखि ‘क्रियाकलापमा आधारित सिकाई’ को माध्यमबाट पठनपाठन शुरु गर्ने भएको छ । सिकाईको नयाँ माध्ययमको रुपमा विकास भएको क्रियाकलापमा आधारित सिकाई (प्रगतीशील शिक्षा) कक्षा तीनसम्म पढाईने भएको स्कुलका निर्देशक छेडुप लामाले बताउनुभयो । यसको लागि विद्यालयले तपस कन्सल्टिङ एण्ड ट्रेनिङ्ग इन्स्टिच्युटसँग सम्झौता पनि गरेको छ ।

वीरगन्जमा पहिलो पटक मस्कोट एकेडेमीले नयाँ सिकाईको माध्यमबाट विद्यार्थीलाई पढाउने भएको हो । पहिलो चरणमा विद्यालयले अभिभावकहरुलाई सिकाई माध्यमको बारेमा जानकारी दिनका लागि एक दिने अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको राणीसति अगाडि रहेको मधुशाला रेष्टुरेण्टमा आयोजना गरिएको अभिभावकहरुका लागि अभिमूखीकरण कार्यक्रममा तपस कन्सल्टिङ एण्ड टे«निङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत अञ्जना श्रेष्ठ, प्रशिक्षक अकिता पौडेल, रेणु सुब्बाले सिकाई विधिको बारेमा अभिभावकहरुलाई जानकारी गराएको थियो ।

विद्यालयमा शिक्षकहरुले कसरी पढाउने भन्दा पनि विद्यार्थीहरुले कसरी राम्रो कुराहरु सिक्छन् भन्ने उद्देश्यले नयाँ शिक्षण विधिको प्रयोग गर्न लागिएको विद्यालयका निर्देशक लामाले बताउनुभयो । वीरगन्जका पहिलो पटक शुरु गर्न लागिएको सिकाई माध्यममा चुनौतीहरु भएपनि अभिभावक, शिक्षक, विद्यालय र समाजको संयुक्त समन्वयले यसलाई सहज बनाउने विश्वास लामाले लिनुभएको छ ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले देशभर नै यस्तै सिकाई माध्यमको प्रयोग गर्न थालेकोले पनि वीरगन्जमा पहिलो पटक मस्कोट एकेडेमीले नयाँ शैक्षिक सत्रबाट शुरु गर्ने निर्देशक छेडुप लामाले बताउनुभयो ।