नेकपा एमालेको मतादान सकियो, २ हजार एकसय मत खसेको अनुमान
वीरगन्ज, १४ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा भईरहेको मतदानको समय सकिएको छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएपछि आधा घण्टा थप गरिएको थियो ।
थपिएको समयमा मतदान सम्पन्न भएको हो । मतदानको समय सम्पन्न भएको अवस्थासम्म २०७९ मत खसेको छ । बाँकी मतदान स्थलमा केही प्रतिनिधिहरुले मत खसाल्न बाँकी रहेको बताईएको छ । कूल मतदाता संख्या २१५३ जना मध्य अहिलेसम्म २०७९ मतदान भईसकेको छ ।
अन्तिम मतदान केहीबेरमा सकिने नेकपा एमालेका सचिवका उम्मेदवार योगेश भट्टराईले जानकारी दिनुभयो । डेढदुई घण्टामा मत परिणाम आउने सम्भावना छ । यो सँगै एमालको महाधिवेशनमा २ हजार एकसय मत खस्ने अनुमान गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले बताउनुभयो । गएराति नै मतदान सुरु गर्ने भनिएपनि ढिला गरी आज बिहानबाट मात्र मतदान सुरु भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भइरहेको छ ।
एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।