चारदिने नमूना युवा संसद अभ्यास प्रशिक्षण शुरु
वीरगन्ज, ६ असार । पर्साको ठोरी गाउँपालिकामा चारदिने युवा नमूना संसद अभ्यास शुरु भएको छ । सोमबारदेखि शुरु भएको अभ्यास प्रशिक्षणको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले उदघाटन गर्नुभएको हो ।
युवा परिषदको सहयोग तथा ठोरी गाउँपालिकाको आयोजनामा भएको युवा संसद नमूना अभ्यास प्रशिक्षणमा ठोरीका पाँचवटै वडाको युवा क्लबबाट चुनिएर आएका युवाहरुको सहभागिता रहेको छ । तालिममा संघीय युवा संसदका पशिक्षकहरुले प्रशिक्षण दिईरहेका छन् ।
सोमबर भएको उदघाटन कार्यक्रममा युवा परिषद पर्साका अध्यक्ष अमिताभबच्चन दास, ठोरी गाउँपालिकाकी उपप्रमुख गोकुली कुमारी रेग्मी, हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादव लगायतको उपस्थिति रहेको गाउँपालिकाका शिक्षा संयोजक भूपाल जोशीले जानकारी दिनुभयो ।
चारदिनसम्म युवाहरुलाई सांसदहरुको भूमिका, जिम्मेवारी, काम कर्तव्य र अधिकार तथा संसदमा हुने प्रकृयाको बारेमा प्रशिक्षण दिईने उहाँले बताउनुभयो । प्रशिक्षणपछि नमूना संसदको अभ्यास गरेर कार्यक्रम समापन हुनेछ ।
प्रशिक्षणबाट युवालाई नेतृत्व गर्ने क्षमताको विकास हुने र यसले समाजलाई गर्ने युवा नेतृत्व तयार हुने युवा परिषदका अध्यक्ष अमिताभबच्चन दासले बताउनुभयो ।