केपी ज्वेलरीमा प्रहरीको छापा, अवैध हुण्डीको रकम सहित दुईजना पक्राउ 

केपी ज्वेलरीमा प्रहरीको छापा, अवैध हुण्डीको रकम सहित दुईजना पक्राउ 

वीरगन्ज, ३१ भदौ । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारको आशंकामा माईस्थानको एक सुनपसलमा छापामारी नगद सहित दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.६ माईस्थान चोक अगाडि रहेको कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरीबाट ३८ लाख ५१ हजार एकसय रुपैंया नगद सहित २ जनालाई हिजो दिउँसो पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

ज्वेलरीमा अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त ज्वेलर्स भित्र छापामारी गरी श्रोत नखूलेको नेपाली नगद अठतीस लाख एकाउन्न हजार एक सय बरामद गरेको थियो ।

छापामारी गर्ने क्रममा ज्वेलरीका संचालक बर्ष ४५ को कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने बर्ष २० को दिपक कुमार सर्राफलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।