उद्योग वाणिज्य महासंघ प्रदेश २ द्वारा सशस्त्र प्रहरी उपरीक्षकहरुको विदाई 

 उद्योग वाणिज्य महासंघ प्रदेश २ द्वारा सशस्त्र प्रहरी उपरीक्षकहरुको विदाई 

वीरगन्ज, ३० पुस । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ ले सशस्त्र प्रहरी बल १२ नम्बर गण हेडक्वाटर बारा र १३ नम्बर गण हेडक्वाटर पर्साबाट सरुवा हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई विदाई गरेको छ ।

वीरगन्जको होटल कैलाशमा कार्यक्रमको आयोजना गरी पर्साबाट सरुवा हुनु भएका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का र बाराबाट सरुवा हुनु भएका सशस्त्र प्रहरी उपरीक्षक रविन कर्णजीतलाई शुक्रबार विदाई गरेको हो ।

दुवैजना सशस्त्र प्रहरी उपरीक्षकलाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश प्रसाद लाठले दोसल्ला र मायाको चिनो दिएर सम्मान सहित विदाई गर्नुभएको हो ।

विदाई कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष सुवोध गुप्ता, पूर्व अध्यक्ष अशोक टेमानी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ को होटल तथा पर्यटन समितिका सहसंयोजक सञ्जय अग्रवाल लगायतले पनि मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले सशस्त्र प्रहरी उपरीक्षक द्वयले आफ्नो कार्यक्षेत्रमा कार्यरत रहँदासम्म उद्योग व्यवसायक्षेत्रको सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उद्योगी व्यवसायीहरुप्रति गरिएको शालिन र भद्र व्यवहार अत्यन्त सम्झनायोग्य रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश प्रसाद लाठले सुरक्षा निकायले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा नियन्त्रकको भूमिका निर्वाह गर्नुपर्ने कानूनी बाध्यता भएपनि सहजीकरणमा पनि विशेष सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले काम गर्ने क्रममा अहिलेसम्म निजीक्षेत्रबाट भएका नकारात्मक कुरालाई विर्सिएर सकारात्मक कुराहरुलाई मात्रै ग्रहण गरेर जान अनुरोध गर्नुभयो । केही सुधार गर्नुपर्ने पक्षहरु भए सुधार्नका लागि सुझाव दिन समेत आग्रह गर्नुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले पर्सा–बारा औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले खेलेको भूमिक सराहनीय रहेको भन्दै यसअघि स्थापना गरिएको औद्योगिक सुरक्षा बलको अझै आवश्यकता रहेको र यसको लागि पहल गरिदिन पनि दुवै सुरक्षा अधिकारीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले औद्योगिक सुरक्षा बल निजी क्षेत्रलाई कुनै पनि जानकारी नै नदिई हटाइएकोमा विमती जनाउदै देशको आर्थिक विकासका लागि औद्योगिक सुरक्षा बल आवश्यक भएको बताउनुभयो ।

सरुवा हुनुभएका दुवैजना सशस्त्र प्रहरी उपरीक्षकहरुले पर्सा र बारावासीले गरेको माया कहिल्यै नविर्सिने भन्दै कर्तव्य पालनाको सिलसिलामा भए गरेका मानवीय त्रुटीलाई त्यहि अनुसार बुझिदिन पनि उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, पूर्व अध्यक्ष अशोकट टेमानी, प्रदीप केडिया लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।