२८ औं विश्व आदिवासी दिवसको अवसरमा पर्सामा अन्तरकृया 

२८ औं विश्व आदिवासी दिवसको अवसरमा पर्सामा अन्तरकृया 

वीरगन्ज, २४ साउन । २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साले आयोजना गरेको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बार एशोसिएसनको सभाहलमा मंगलबार भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले अझैपनि आदिवासी जनजाति समुदायले आफ्नो अधिकारको लागि अगाडि नआउदा आफ्नो धर्म, संस्कृति नै संकटमा परेको बताएका छन् । राज्यमा अझैपनि विभेद कायम नै रहेको भन्दै आदिवासी जनजाति समुदाय एकजुट नभएसम्म समाजमा विभेद कायम नै रहने बताए । समावेशीको नाममा केही सीमित व्यक्तिहरुको मात्रै राज्यमा पहुँच हुने र सिंगो आदिवासी जनजाति समुदायको वार्गीय विकास अझै हुन नसकेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल बहादुर पिठाकोटे मगरले आफू दशकौंदेखि आदिवासी जनजाति समुदायको हित र उत्थानमा लागेपनि यहाँका आदिवासी जनजाति समुदाय कहिल्यैपनि अगाडि आउन नचाहेको बताउनुभयो । उहाँले जबसम्म आफ्नो अधिकारको लागि एकजुट भएर लागिदैन तबसम्म राज्यले नसुन्ने बताउनुभयो । संयुक्त राष्ट्र संघको महासन्धी अर्थात विश्व श्रम संगठनले परिभाषित गरेको आईएलओ १६९ अभिसन्धीको पक्ष राष्ट्र नेपाल भएपनि अझै नेपालका आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, भेषभुषा संरक्षण र अधिकारको सवालमा राज्यले विभेद गरेको बताउनुभयो ।

मुलुक संघीयतामा गएपछि पनि सरकार परिवर्तन हुने विक्तिकै राज्यमा बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषीहरुको चाडपर्वहरु कटौती हुने गरेको र फेरी त्यसको चौतर्फी विरोधका स्वरहरु आउन थालेपछि मात्रै त्यसलाई सच्याउने राज्यको पूरानै प्रवृत्तिले समानुपातिक समावेशी समाजको रुपान्तारण हुन नसकेको सहभागी वक्तारुले व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इन्चार्ज नीरज पिठाकोटे मगर, सामाजिक अभियन्ता प्रकाश थारु, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, सुशासन पार्टीका जिल्ला सचिव बालेश्वर चौधरी, नेवा दयबुः का पूर्व अध्यक्ष सुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समन्वय परिषद पर्साका अध्यक्ष सोम स्याङतान लामाको अध्यक्षतामा भएको कार्यक्रममा किराँत राई यायोक्खाका पूर्व अध्यक्ष जगत राई, नेपाल मगर संघका रमेश थापा मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समन्वय परिषदका सचिव एवं अधिवक्ता अमय दास थारुले गर्नुभएको थियो भने स्वागत परिषदका उपाध्यक्ष रामाशिष धानुकले गर्नुभएको थियो ।