माइस्थान सडकको विषयमा परेको मुद्दामा आन्तरिम आदेश दिन अस्वीकार 

माइस्थान सडकको विषयमा परेको मुद्दामा आन्तरिम आदेश दिन अस्वीकार 

वीरगञ्ज, १८ माघ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले माइस्थान मन्दिर अगाडीको बाटो खोल्न माग गर्दै परेको रिटमा आत्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भट्टको इजलासले माइस्थान मन्दिर अगाडिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

रेवती प्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।  साहले गएको माघ १० गते निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । दुबै पक्षको बहसपछि मंगलबार अदालतले महानगरको पक्षमा आदेश दिएको हो ।

वीरगञ्ज महानगरपालिकाले माइस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सौन्दर्यकरणको काम गरिरहेको छ । महानगरले मन्दिर अगाडीको सडक तथा दायाँबायाँ सडकमा पेभर्स लगाउने काम सम्पन्न गरेको छ । विद्युततीकरण र फुलको बगैंचा बनाउने काम अघि बढाउने तयारी गरेको छ । अदालतले महानगरको पक्षमा आदेश दिएसँगै महानगरको विकास नचाहनेहरुको षड्यन्त्र विफल भएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।