वीरगन्ज महानगरपालिकाद्वारा अस्पतालजन्य फोहोर संकलन शुरु
वीरगन्ज, ५ फागुन । वीरगंज माहानगरपालिकाले आजदेखि नियमित रूपमा अस्पताल जन्य फोहर संकलन गर्न शुरु गरेको छ । केही दिन अघि वीरगन्ज माहानगरपालिका वडा नम्बर १६ नगवामा अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्र (Hospital based green west center) को स्थापना भएपछि फोहोर व्यावस्थापनका लागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको हो ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले केहीदिन अघि उद्वघाटन गर्नुभएको अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्रमा फोहोर प्रशोधन कार्य शुरु भएकोले अस्पतालहरुमा निस्किने फोहोर संकलन शुरु गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
अस्पताल, नर्सिङ होम, तथा विभिन्न परिक्षण प्रयोगशालाहरुबाट निस्कने फोहोरहरु तालिम प्राप्त प्राबिधिकहरुको सक्रियतामा अत्याधुनिक मेसिन बाट बिसर्जन गरिने वीरगन्ज महानगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो । वीरगन्ज माहानगर भित्र संचालनमा रहेका सम्पुर्ण अस्पतालहरु र परीक्षण प्रयोगशालाहरुबाट निस्किने मानव अंङ्ग तथा स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालका फोहोरहरुलाई उचित व्यावस्थापनका लागि वीरगन्ज महानगरपालिकाले छुट्टै अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्र निर्माण गरेको छ ।
फोहोर व्यावस्थापन केन्द्र सञ्चालनमा आएपछि नियमित रुपमा अस्पतालजन्य फोहोरहरु संकलन गरि व्यावस्थापन केन्द्रमा प्रशोधन गरिने भएकोले यसले वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने नगर प्रमुख सरावगीले बताउनुभयो । अस्पताल तथा प्रयोगशालाहरुले जथाभावी फोहोर नफ्याँकेर फोहोर व्यावस्थापनका लागि छुट्टै डष्टविनहरुको प्रयोग गर्न तथा अस्पतालका फोहोरहरुलाई उचित व्यावस्थापनमा सहयोग पु¥याउन नगरप्रमुख सरावगीले अनुरोध गर्नुभएको छ ।