मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु ४ जना गम्भीर घाइते
जिराभवानी २९ चैत । पर्साको ठोरी गापा वडा नम्बर ४ मा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विजयवस्ती प्रहरी चौकीले जानकारी दिएको छ।
शनिवार साँझ बीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने ठोरी ४, गोपीवस्तीमा पैदल हिँडिरहेका गोपीवस्तीका ४ जना युवाहरुलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। साँझ विजयवस्तीबाट जीराभवानी गापा–३, नौकाटोला जाँदै गरेको नौकाटोलाका राम सिंह राय थारु सवार ग ९ प ९५८७ नम्बरको मोटरसाईलले ठक्कर दिँदा गोपीवस्तीका अभिशेक गोले, मधु गोले, सन्जय लामा र आनन्द परियार घाइते भएका थिए।
घाइते मध्ये अभिशेक गोले र मधु गोलेको टाउको र शरीरमा गम्भीर चोट लागेको र बीरगंज स्थित एल एस न्युरो अस्पतालमा उपचारका क्रममा १९ वर्षीय किशोर अभिशेक गोलेको निधन भएको विजयवस्ती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मिन बहादुर रमौलीले जानकारी दिनुभयो । अर्का घाइते मधु लामाको गम्भीर अवस्थामा उपचार भैरहेको उहाँले बताउनुभयो।
यस्तै घाइतेहरु सन्जय लामा र आनन्द परियारको खुट्टा र ढाडमा चोट लागेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाई छ।
ठक्कर दिने मोटरसाईकल चालक थारुको टाउकोमा चोट लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर बीरगंज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरी सहायक निरीक्षक रमौलीले जानकारी दिनुभयो ।
बीरगंज ठोरी हुलाकी सडक खण्डमा कालोपत्रे भएयता ठोरीमा मोटरसाइकल दुर्घटनामा वृद्धि भएको छ । धेरै जसो दुर्घटना मादक पदार्थ सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको छ।