माओवादी केन्द्रका महानगर अध्यक्ष अन्सारी सहित पर्साका सुरक्षा अधिकारीद्वारा सीमाक्षेत्रको अनुगमन निरीक्षण 

माओवादी केन्द्रका महानगर अध्यक्ष अन्सारी सहित पर्साका सुरक्षा अधिकारीद्वारा सीमाक्षेत्रको अनुगमन निरीक्षण 

वीरगन्ज, ३० असार । पर्साका दुईवटा सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ मा पर्ने नेपाल भारत सीमाक्षेत्रको अनुगमन निरीक्षण गरेको छ ।

केही दिन पहिले परेको भारी बर्षाका कारण सिर्सिया नदिमा आएको बाढीले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छप्कैया क्षेत्रमा कटान गरेको र वडा कार्यालयले त्यसको तथ्यांक समेत नराखेको भन्दै स्थानीयले गुनासो गरेपछि नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष रहबर अन्सारीको पहलमा स्थलगत निरीक्षणका लागि आग्रह गरेर सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले अनुगमन निरीक्षण गरेको हो ।


पर्साका प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का र नेकपा माओवादी केन्द्र वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी सहितको टोलीले छप्कैया १ मा नदिले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणमा गएका सुरक्षा निकायका प्रमुखहरुलाई स्थनीयले सीमामा भोग्नु परेका विभिन्न समस्याका बारेमा जानकारी गराएका थिए । नेपाल भारत संयुक्त नापी टोलीले स्थगित गरेको सीमा स्तम्भ राख्ने काम भारतीय एसएसबीको पक्षबाट भएको भन्दै त्यसलाई रोक्न तत्काल पहल गर्न स्थानीयले आग्रह गरेका थिए ।


नेपाल भारत सीमामा रहेको मन्दिर छेऊको नदि किनारमा ढलान गर्ने क्रममा सीमा स्तम्भको नेपालतर्फको भूभागमा समेत ढलान गर्दा नेपालतर्फको जमिन सिर्सिया नदिले कटान गर्ने गरेकोले त्यसमा अस्थायी बाँध बाँध्नुपर्ने माग गरेका थिए । नेकपा माओवादी केन्द्र वडा नम्बर १ का अध्यक्ष रविन्द्र महतो कोईरीले भारतले सीमामा पटक पटक दुख दिने गरेको र नेपाल तर्फका जनप्रतिनिधिहरुले पनि छप्कैया वडा नम्बर १ का नागरिकलाई सौहार्दपूर्ण व्यवहार नगरेको गुनासो गर्नुभयो ।


जितेर गएका जनप्रतिनिधिहरुले पनि राजनीतिक पूर्वाग्रह राख्ने गरेकोले विपक्षीका समर्थकहरुलाई दुख दिने गरेको आरोप लगाउनु भयो ।