सवारी दुर्घटना न्यूनीकरणका लागि पर्सा ट्राफिक प्रहरीको सक्रियता 

सवारी दुर्घटना न्यूनीकरणका लागि पर्सा ट्राफिक प्रहरीको सक्रियता 

वीरगन्ज, ६ मंसिर । पर्सामा दुईपांग्रे सवारी साधनबाट हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुईपांग्रे सवारी साधनलाई केन्द्रीत गरेर सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम संचालन गरेको छ ।

सवारी साधनहरुमा पनि दुईपांग्रे सवारी साधनहरु संचालनका क्रममा असावधानीका कारण दुर्घटना हुने गरेको र चालकहरुलाई पनि सचेत गराउनका लागि पाक्षिक रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिनुभयो ।

दुईपांग्रे सवारी चालकहरुलाई लक्षित गरी पर्साका ग्रामीण क्षेत्रमा र वीरगन्ज महानगरपालिकाको मुख्य चोकहरुमा सचेतना कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो सचेतना कार्यक्रममा मोटरसाईकल र स्कुटर चालकहरुलाई दुईमिनेट रोकेर सवारी साधन सावधानीका साथ चलाउने र ट्राफिक नियम पालना गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

धेरै दुर्घटना दुईपांग्रे सवारी साधनबाट हुने गरेकोले त्यस्ता दुर्घटना न्यूनीकरणका लागि दुईपांग्रे सवारी चालकहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । सवारी चलाउँदा तीब्र गतिमा नचलाउने, ट्राफिक नियमको पालना गरेर चलाउने, मोबाईल कुरा गर्दै नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

कम जनशक्ति भएपनि वीरगन्ज महानगरपालिकाको सवारी व्यावस्थापनका लागि ट्राफिक प्रहरीले दैनिजसो मुख्य चोक घण्टाघरमा ट्राफिक नियम पालना गर्ने बानी बसाल्नका लागि जाममा बाटो काट्ने र सवारी चलाउने तरिकाहरु सिकाउने गरेको छ । तर, नागरिकहरुले भने ट्राफिक प्रहरीले गरेको कामलाई पालना नगरिदिँदा ट्राफिक व्यावस्थापनमा समस्या हुने गरेको उहाँको भनाई छ ।