जसपा पार्टी फुटको असर : पर्साका नेताहरु पार्टी परित्याग गर्दै 

जसपा पार्टी फुटको असर : पर्साका नेताहरु पार्टी परित्याग गर्दै 

वीरगन्ज, २५ असार । जनता समाजवादी पार्टी नेपालको फुटको असर जिल्ला तहमा समेत देखिएको छ । मधेस आन्दोलनपछि जसपाको गढ मानिएको पर्सामा अध्यक्ष उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईबीच सहमतिमै छुट्ने भएपछि त्यसको असर पर्सामा समेत परेको छ ।

पर्साको क्षेत्र नम्बर ४ का एउटा समूह नै जसपा पार्टी परित्याग गर्ने तयारीमा छन् । जनता समाजवादी पार्टी पर्साको क्षेत्र नम्बर ४ बाट स्थानीय तहदेखि केन्द्रीय सदस्यसम्मले पार्टी परित्याग गर्ने तयारी गरेको जसपा एक नेताले बताए । उनका अनुसार जनता समाजवादी पार्टीमा बस्ने वातावरण नै नरहेकोले एउटा ठूलो समूह नै पार्टीबाट बाहिरिने तयारी गरेका छन् ।

क्षेत्र नम्बर ४ का केन्द्रीय सदस्य सहित पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग नजिक रहेका व्यक्तिहरुले नै पार्टी छोड्न लागेका हुन् । केही नेताहरु अहिले काठमाडौं मै रहेको र उनीहरु काठमाडौंबाट फर्किएपछि सामूहिक रुपमा नै राजिनाम दिने तयारी गरेको ती नेताले बताए ।

जसपा उपेन्द्र यादव पक्षले असार २८ र २९ गते वीरगन्जमा केन्द्रीय कमिटिको बैठक आह्वान गरेको छ । भने अर्को समूहले काठमाडौंमा केन्द्रीय कमिटिको बैठक रहेको भन्दै विभिन्न माध्यमबाट सूचना सार्वजनिक गरेको छ ।