माओवादीको नेतृत्वमा जसपाको मन्त्री थपियो, जसपाको नेतृत्वमा माओवादीको मन्त्री लखेटियो 

माओवादीको नेतृत्वमा जसपाको मन्त्री थपियो, जसपाको नेतृत्वमा माओवादीको मन्त्री लखेटियो 

वीरगन्ज, ९ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ११ औं पटक विस्तार हुँदा बल्ल पूर्णता पाएको छ । जसपाका विरेन्द्र महतो र प्रमीला यादवलाई मन्त्रीमा नियुक्त गरिएको हो ।

महतोलाई वन तथा वातावरणम मन्त्री र यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरिएसँगै संघीय सरकारले पूर्णता पाएको छ । प्रचण्ड नेतृत्वको सरकारमा जसपाले मन्त्रीको सपथ खाईरहँदा यता मधेस प्रदेशमा भने जसपाको नेतृत्वमा रहेको प्रदेश सरकारमा माओवादी मन्त्रीहरुलाई बाहिरिन बाध्य पारिएको छ ।

सहमति अनुसार मधेस प्रदेशमा दुईवटा मन्त्रालय माओवादीले पाउनुपर्ने भएपनि मुख्यमन्त्री सरोज यादवले एउटा मात्रै मन्त्रालय यथावत राख्दै कांग्रेसका दुई र एकीकृत समाजवादीका एकजनालाई मन्त्रीमा नियुक्त गरेपछि माओवादी केन्द्र मधेस प्रदेशको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टीको संसदीय दलको बैठक बसेर माओवादी सरकारबाट बाहिरिने निर्णय गरेको संसदीय दलका नेता भरत साहले जानकारी दिनुभयो । त्यस्तै सत्तागठबन्धन दल जनमतको पनि मन्त्रालय खोसिएको छ । जनमतका कृषिमन्त्री बषन्त कुश्वाहालाई हटाएर मुख्यमन्त्री सरोज कुमार यादवले एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषिमन्त्री बनाउनु भएको छ ।

मुख्यमन्त्रीको दावी गरिरहेको लोसपा पनि सरकारमा नजाने अवस्थामा पुगेको छ । मधेसमा जनमतसँगको राजनीतिक प्रतिस्पर्धामा रहेको जसपाले संघीय सरकारमा मन्त्री पठाएकै दिन मधेस प्रदेशमा भने उपेन्द्र यादवले भाँडभैलो मच्चाएको छ ।