पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार द्विवेदीको घरदैलोले मतदाता उत्साहित
वीरगन्ज, ८ कार्तिक । पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय द्विवेदीले चाडपर्वको समयमा मतदाता भेटघाटका लागि घरदैलोमा गएपछि मतदाताहरु निकै उत्साहित भएका छन् ।
उम्मेदवारी दिएको भोलीपल्ट नै डेंगु संक्रमण देखिएपछि अस्पतालमा स्वास्थलाभ गरेर अहिले घरदैलोमा मतदाताहरु भेटघाटलाई तीब्रता दिनुभएको छ । चुनावी अभियानका क्रममा मंगलबार द्विवेदीले वीरगन्ज महानगरपालिकाको वडा नं. ३२ टेंढामा मतदाताको घरदैलोमा पुगेर मतदाताहरुसँग भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा मतदाताहरु निकै उत्साहित पाएको द्विवेदीले बताउनुभयो । उहाँले दलहरुको पछिल्लो गतिविधिले नागरिकमा निराशा छाएको भन्दै नागरिकको मत कुनै अमुक दलको बन्धक बनाउनु भन्दा स्वतन्त्र रुपमा मत प्रकट गर्न पाउनुपर्ने आवाज आफूले उठाएकोले मतदाताहरु उत्साहित देखिएको बताउनुभयो ।
त्यस्तै वडा नं. ३१ बेल्वामा नेता कार्यकर्ताहरुसँग भेटघाट र छलफल गरिएको नेता द्विवेदीले बताउनुभयो । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका नेता द्विवेदीले टिकट वितरण गर्दा आफूलाई अन्यायमा पारिएको भन्दै स्वतन्त्र तर्फबाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो ।
डेंगु संक्रमणमुक्त भए लगत्तै उहाँ जनताको घरदैलोमा पुगेर मत माग्नेदेखि नेता कार्यकर्ता भेटघाट जस्ता चुनावी गतिविधिमा सक्रिय हुनुहुन्छ । पर्सा क्षेत्र नं २ मा बाम लोकतान्त्रिक गठबन्धन र एमाले लोसपा गठबन्धनका उम्मेदवारहरुलाई नेता द्विवेदीले टक्कर दिने अनुमान गरिएको छ ।