जिल्ला समन्वय समिति पर्सामा पाँचदलीय गठबन्धन टुट्यो, महानगरमा जित पछि जसपाको एमालेसँग तालमेल

जिल्ला समन्वय समिति पर्सामा पाँचदलीय गठबन्धन टुट्यो, महानगरमा जित पछि जसपाको एमालेसँग तालमेल

वीरगन्ज, २४ जेठ । जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि आज मनोयन दर्ता भएको छ । जेठ २७ गते हुने निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोयन दर्ता भएको हो । जिल्ला समन्वय समितिको  निर्वाचनमा जसपा र एमालेबीच गठबन्धन भएको छ । कांग्रेसले भने एक्लै उम्मेदवारी दिएको छ ।

नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुखमा सरोज चौरसीया र उपप्रमुखमा कुमारी सोनीले मनोयन दर्ता गराएका छन । यस्तै जनता समाजवादी पार्टी प्रमुखमा निरन्जन प्रसाद सोनार र नेकपा एमालेबाट उपप्रमुखमा पुरण कुर्मीले मनोयन दर्ता गराएको सहायक मुख्य निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले जानकारी दिनुभयो ।

कुनैपनि दलको एकल बहुमत नभएपछि जिल्ला समन्वय समिति निर्वाचनमा नेकपा एमाले र जसपा बिच चुनावी तालमेल भएको हो । बिहीबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र शुक्रबार मतदान हुने कार्यतालिका रहेको सहायक मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी बताउनुभयो । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन भएको ३० दिन भित्र जिल्ला समन्वय समितिको निर्वाचन हुने गर्दछ ।

समन्वय समितिको नेतृत्वका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगर प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । समितिमा गाउँपालिका वा नगरपालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधी उम्मेदवार बन्न पाउने व्यवस्था छ । ९ सदस्यीय जिल्ला समन्वय समितिमा सभापति, उपसभापति, तीन जना महिला सदस्य, दलित वा अल्पसंख्यकमध्येबाट १ जना र ३ जना अन्य बाट सदस्यमा निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत छैन । नेपाली कांग्रेसको अध्यक्ष उपाध्यक्ष सहित १२ मत छ भने नेकपा एमाले १०, जनता समाजवादी पार्टीको ५, लोसपा १ रहेको छ । अन्य दलभन्दा नेपाली काग्रेस बलियो देखिएको छ । तर नेतृत्वका लागि जनता समाजवादी पार्टी निर्णायक देखिन्छ । एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहका २८ प्रमुख उपप्रमुखमध्ये कुनै पनि राजनीतिक दलको एकल बहुमत छैन ।