केपी ओलीले पार्टी होईन कम्पनीको सानो गुट चलाइरहेको छ ः माधव कुमार नेपाल
वीरगञ्ज, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले केपी ओलीले अहिले पार्टी नभई कुनै कम्पनीको सानो गुट मात्रै चलाईरहेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेले माधव समूहले वीरगञ्जमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले पदको लागि नभई सिद्धान्त, सत्य र न्यायका लागि पार्टी कार्यकर्ताको माझमा आएको बताएका छन् ।
प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्न नभई कम्युनिष्ट पार्टी बचाउन लागि आफू अघि सरेको उनको भनाई छ । केपी ओली पार्टीको पदाधिकारी, केन्द्रिय कमिटि, स्थायी समिति र पोलिटव्युरो कमिटिमा अल्पमत भएका कारण फेस गर्न नसकेर भाग्ने गरेको उनले बताए । ९ औं महाधिवेशन पछि केपी ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको उनको टिप्पणी छ ।
पार्टीमा प्रश्न गर्ने मानिसलाई कारबाही गर्ने दक्षिणपन्थी विचार बोकेका ओलीले पार्टीलाई विर्सजन गर्ने बाटोमा अघि बढाएको आरोप उनले लगाए । सही विचार, सही पार्टी र सही नेतृत्व बनाउन, जनता, सामाज र देशको हित र कल्याण गर्न, इमान्दार कर्तव्यनिष्ठ, सिद्धान्तप्रति प्रतिवद्ध जिम्मेवार कार्यकर्ता बन्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै नेता घनस्याम भुषालले ७० वर्षसम्म नेपालका कम्युनिष्ट गरेको त्याग तपस्या, बलिदान, सहादत, आँसु, पीडालाई तहस नहस पार्ने काम ओलीले गरेको आरोप लगाए । केपी ओलीले देखेको समाजवाद चुनावदेखि चुनाव मात्रै भएको टिप्पणी गर्दै भूषालले टिकट विक्रीका लागि चुनावमा जाने कुरा गरेको दावी गरे । माधव नेपाल समूहले ७७ जिल्ला मध्ये ६५ जिल्लामा समानान्तर जिल्ला कमिटि गठन गरिसकेको जनाएको छ ।
३२ वटा जनवर्गीय संगठनको पनि समानान्तर जिल्ला कमिटि गठन गर्ने तयारी छ । सोही क्रममा नेकपा एमाले माधव नेपाल समूहले पर्सामा बाल गोपाल थापा अध्यक्ष रहेको १७५ सदस्सीय समानान्तर जिल्ला कमिटि गरेको छ ।