उद्धोगपति तथा सामाजिक व्यक्तित्व केडियाको अन्त्येष्टि

उद्धोगपति तथा सामाजिक व्यक्तित्व केडियाको अन्त्येष्टि

वीरगन्ज, २६ फागुन । नेपालको आर्थिक विकास र औध्दोगिक विकासमा योगदान दिने औद्योगिक समूह मध्य एक हो केडिया अर्गनाईजेसन । वीरगन्जलाई व्यापारको आधारक्षेत्र बनाएर व्यावसाय शुरु गरेको केडिया अर्गनाईजेशनको खम्बा अर्थात वीरगन्जको प्रतिष्ठित उद्योगपति हिरालाल केडियाको मंगलबार निधन भएको छ ।

केही केहीसमय देखि निमोनियाको समस्या रहेको उनको काठमाडौंको एम्स हस्पिटलमा उपचारको क्रममा मंगलबार बेलुकी ८ बजेर २० मिनेटमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको बुधबार वाग्मती नदिमा हिन्दु धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिएको छ । नेपालमा औद्योगिक विकास तथा आर्थिक उनन्नयमा महत्वपूर्ण योगदान रहेको हिरालाल केडिया समाजका एक खम्बा थिए ।

खासगरी २०४६ सालपछि नेपालमा भएको औध्दोगिक विकास भन्दा अघि नै केडिया समूहले देशका विभिन्न स्थानमा उध्दोगहरु स्थापना तथा व्यावसाय सञ्चालन गरेर देशको आर्थिक विकासमा योगदान गर्दै आएको छ । उपभोत्तालाई आवश्यक सबै वस्तु तथा सेवाको उत्पादन आपूर्ति हुने उद्योगहरु मात्रै नभई सामाजिक क्षेत्रमा पनि केडियाको ठूलो योगदान रहेको छ ।

उहाँका दौंतरी साथी वीरगन्जका प्रतिष्ठित उध्देगी बाबुलाल चाचान केडियाको व्यावसायिक क्षेत्रमा मात्रै नभई सामाजिक क्षेत्रमा पनि अतुलनीय योगदान रहेको बताउनुहुन्छ । चाचानका अनुसार एसएलसीसम्म सँगै अध्ययन गर्नुभएका हिरालाल उच्च शिक्षाका लागि भारत जानुभयो । उहाँ भारतमा कानूनमा एलएलबी अध्ययन गरेपछि फेरी नेपालमै फर्किनुभयो ।

उहाँ नारायणी अस्पतालको अध्यक्ष भएपछि अस्पताल पूर्वाधार संरचना निर्माणमा ठूलो परिवर्तन आयो । चाचान सम्झनुहुन्छ, “उहाँकै पालामा नारायणी अस्पतालले काँचुली फेरेको थियो । त्यसपछि वीरगन्जका धेरै औद्योगिक प्रतिष्ठानहरुले अस्पतालमा आर्थिक, भौतिक, नैतिक सबैप्रकारको सहयोग आउन थाल्यो । अस्पतालको पूर्वाधाहरु पनि बने ।

तर, पछि विस्तारै अस्पतालमा राजनीतिले प्रवेश पायो र अस्पतालको सेवा र अवस्था खस्किदै गयो ।” व्यावसायिक र सामाजिक क्षेत्रमा मात्रै नभई हिरालाल केडियाको व्यक्तित्व पनि उस्तै मिजाशिला थिए । उहाँको अभाव व्यावसायिक क्षेत्र, सामाजिक क्षेत्रमा मात्रै नभई सम्पूर्ण देशमै खड्किने चाचान बताउहुन्छ । केडियालाई दौतरीले मात्रै होईन उहाँपछिका युवा पुस्ताले उहाँ अभाव महशुस गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासन अधिकृत मनोज उपाध्यक्ष उहाँको निधनले सिंगो वीरगन्जवासीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “तात्कालिक अवस्थामा देशलाई आवश्यक पर्ने आधारभूत उद्योग र व्यावसायको स्थापना र व्यावसाय सञ्चालन गरेर यसक्षेत्रका आम जनजीवनका आवश्यकतालाई सहज र सरल रुपमा आपूर्ति गर्ने काममा विशिष्ट उहाँको छ ।

सामाजिक क्षेत्रको विकासको साथै सबै वर्ग र समुदायको सन्तुलित विकास भएपछि मात्रै देशको विकास हुन्छ भन्ने मान्यताका उहाँ सरल, मृदुभाषी हुनुहुन्थ्यो । उहाँ एउटा व्यक्ति भन्दा पनि संस्थाको रुपमा चिनिनु हुन्थ्यो ।” केडियाको निधनले सिंगो निजीक्षेत्रले अभिभावक गुमाएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ताले बताउनुभयो ।

गुप्ताले भन्नुभयो, “स्वच्छ तथा सरल स्वभावका धनी, अति मिलनसार, असल सहयोगी , सदविचारका धनी व्यक्तित्व , वीरगन्जका सच्चा अभिभावक हामीले आज गुमाएका छौ ! वहाँ लाई भावपूर्ण श्रद्धान्जली एवं दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।” हिरालाल केडिया यहिबर्ष राष्ट्रपतिबाट पनि सम्मानित हुनुभएको थियो । उहाँको चारभाई छोरा रमेश केडिया, सुरेश केडिया राजेश केडिया र विमल केडिया छन् । विमल केडिया संविधान सभा सदस्य समेत हुन् ।