प्रकृतिको लिला: पहाडमा बाढी पहिरो, मधेसमा सुक्खा खडेरी 

प्रकृतिको लिला: पहाडमा बाढी पहिरो, मधेसमा सुक्खा खडेरी 

वीरगन्ज, ३ वीरगन्ज । प्रकृतिले पनि नेपालमा लिला गरेको छ । पूर्वबाट ढिलो गरी भित्रिएको मनसुन देशभर अझै फैलिन सकेको छैन । पूर्वमा मात्रै सक्रिय रहेको मनसुनले कोशी प्रदेशका पहाडी जिल्लामा ताण्डव मच्चाई रहँदा मधेसमा खडेरीले आक्रान्त पारेको छ ।  

ज्येष्ठको पहिलो सातादेखि सुरु भएको खडेरी मध्य र पश्चिम तराईमा अझै कायम छ । जेठको पहिलो सातादेखि सुरु भएको खडेरी मध्य र पश्चिम तराईमा अझै कायम छ । लामो समयसम्म पानी नपर्दा मध्य तथा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । खडेरीले धाराको पानी सुकेर खानेपानीको चरम अभाव भएको छ । वीरगन्जको मुख्य सहरमा नै पानीको चरम अभाव भएको छ । चापाकलमा मात्रै होईन मोटरबाट समेत पानी आउन छोडेको छ । 

तराई मधेसमा उखरमाउलो गर्मीले जनजीवन कष्टकर भईरहँदा पूर्वी पहाडी क्षेत्रमा भने बर्षासँगै बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । अहिलेसम्म ताप्लेजुङ्ग, पाँचथर र संखुवासभामा पहिरोले ३ जनाको ज्यान गएको छ, भने ३८ जना बेपत्ता भएका छन् । शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक अवरुद्ध हुनुका साथै पुलहरु पनि भत्किएको छ ।

सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको उनले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी दिनुभयो । ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्यस्तै तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने मझमिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ ।

यो दुईवटा पुल बगाएपछि ताप्लेजुङ जिल्ला यातायातको सम्पर्कबाट पूर्ण रुपमा बिच्छेद भएको मन्त्री ज्वालाले जानकारी दिए । ताप्लेजुङमा विद्युत पनि अवरुद्ध भएको छ । वर्षा र बाढीका कारण अरुण करिडोरमा ५०० मिटर सडक बगेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पांग्रेभीरमा पनि सडक अवरुद्ध भएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–३ मच्छेबुङको मोटरपुल पनि बगेको छ । पाँचथरकै फिदिम–यासोक सडक बीचमा पर्ने कुम्मायक गाउँपालिका–४ बन्थाकमा सडक अवरुद्ध भएको छ । ताप्लेजुङ–सुर्माखिम– खेवाङ–याम्फुदिन जोड्ने मोटर पुल पनि क्षतिग्रस्त भएको छ । मेची राजमार्गको कान्छीदोकान बजारमा पनि सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको चिवाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजारमा २० मिटरको मेवाखोला पुल पनि भत्केको छ । त्यस्तै मदन भण्डारी राजमार्गको पनि ठाउँठाउँमा अवरुद्ध भएको छ ।