नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारवाही गर्न वाईसियल सहितका संगठनहरुको दबाव
वीरगन्ज, २९ बैशाख । नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डका दोषीहरुलाई कारवाहीको माग गर्दै नेकपा माओवादीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) र विभिन्न संगठनहरुले बीरगन्जमा प्रर्दशन गरेको छ । भुटानी शरणार्थी भ्रष्टाचार काण्डका दोषीहरुलाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद हुनुकासाथै दोषी कारवाही गर्नुपर्ने सरकारलाई दबाव दिन वीरगन्जमा वाईसियलले प्रदर्शन गरेको हो ।
वाईसियलले आयोजना गरेको प्रदर्शनमा अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी पार्टीका महानगर कमिटी समेतले साथ दिएको थियो । बीरगन्जको घण्टाघरबाट शुरु भएको बिरोध प्रदर्शन नगरपरिक्रमापछि पुनः घण्टाघरमा पुगेर कोणा सभामा परिणत भएको थियो ।
कोण सभालाई वाईसियलका केन्द्रीय सदस्य एवं पर्सा इञ्चार्ज गौरव संतोष पटेल, पर्सा अध्यक्ष दिपेन्द्र सिंह पटेल, नेकपा एस बीरगन्ज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, युवा संघका केन्द्रीय सदस्य अनिल पटेल, अखिल क्रान्तिकारीका मधेश प्रदेश सचिव बिवेक कुमार साह, लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रममा संस्थागत रुपमा गरिएको भ्रष्टाचारको सञ्जाल तोड्न सरकारले गरेको आँट र साहसमा युवाहरुको सदैव साथ रहने र यसमा सरकार पछि हट्न नहुने बताएका थिए ।