पर्सामा निर्वाचन आचार संहिताको व्यापक उल्लंघन

निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचार संहिताको व्यापक उल्लंघन भएको छ । निर्वाचन आचार संहिताले निषेध गरेका गम्भीर विषयहरुमा नै व्यापक उल्लंघन भएको पाईएको छ । निर्वाचन आचार संहिता विपरितका गतिविधिहरु व्यापक रुपमा बढेपनि निर्वाचन अनुगमन समितिले भने कारवाहीमा तदारुकता नदेखाएको नागरिक समाजको गुनासो छ ।

पर्सामा निर्वाचन आचार संहिताको व्यापक उल्लंघन

वीरगन्ज, १ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आउन अब ३ दिन बाँकी छ । निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचार संहिताको व्यापक उल्लंघन भएको छ । निर्वाचन आचार संहिताले निषेध गरेका गम्भीर विषयहरुमा नै व्यापक उल्लंघन भएको पाईएको छ ।

निर्वाचन आचार संहिता विपरितका गतिविधिहरु व्यापक रुपमा बढेपनि निर्वाचन अनुगमन समितिले भने कारवाहीमा तदारुकता नदेखाएको नागरिक समाजको गुनासो छ । जनप्रतिनिधिहरुले उम्मेदवारको मत माग्दै हिड्नेदेखि मतपत्र भित्र्याउने र द्वेषपूर्ण अभिव्यक्ति दिँदा समेत जिल्ला निर्वाचन अनुगमन समिति मौन बसेको छ । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको १५ हजार थान मतपत्रसहित एकजना सशस्त्र प्रहरीले भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मतपत्र बोकेर जानकीटोला नाका हुँदै छिरेका अहमदलाई जानकीटोलाको दसौता क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले मंगलबार पक्राउ थियो ।

नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको मतपत्र नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई मंगलबार राति नै जमानतमा छोडेको प्रमुख निर्वाचन अधिकृत विनोद पोखरेलले बताउनुभयो । सोही क्षेत्रबाट प्रनिनिधिसभामा उम्मदवार रहेका एमाले जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँले निर्वाचन आचार संहिताको उल्लंघन हुने गम्भीर अभिव्यक्ति दिएका छन् ।

एमाले जसपा गठबन्धले आयोजना गरेको रात्रीकालिन सभामा ७५ प्रतिशत मत आफूतिरबाट आउने र पहाडी समुदायको मत जम्मा २५ प्रतिशत मात्रै रहेको भन्दै साम्प्रदायिक सदभाव बिथोलिने अभिव्यक्ति दिएका हुन् । उनले भाषणमा बोलेको कुरा सामाजिक सञ्जालमा भाईरल नै भएको छ ।

निर्वाचन आचार संहिता २०७९ को भाग ५ को खण्ड ७२ को ङ मा ‘द्वेषपूर्ण अभिव्यक्ति भन्नाले प्रत्यक्ष र परोक्ष रुपमा जाति, राष्ट्रिय जातीय उत्पत्ति, धर्म, लैंगिकता, उमेर अपाङ्गता वा अन्य अपरिवर्तनीय समूहलाई इङिगत गर्दै असहिष्णु वा घृणा फैलाउने वा हिंसालाई बढावा दिने किसिमका वचन, लिखित वा व्यवहार सम्झनुपर्ने’ भनेर स्पष्ट उल्लेख गरिएको छ ।

जालिमले सोही अनुसारको निर्वाचन आचार संहिता विपरित अभिव्यक्ति दिएका छन् । जालिमले दिएको अभिव्यक्तिका विरुद्ध निर्वाचन आयोगमा समेत उजुरी परेको छ । क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश रिजालले मियाँ विरुद्ध उजुरी गर्नुभएको हो ।  

मियाको अभिव्यक्तिको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको बताईएको छ । निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले इमेल मार्फत उजुरी प्राप्त भएको र आवश्यक छानविन र कारवाहीका लागि निर्वाचन आयोगमा पठाईएको बताउनुभयो ।