सशस्त्र प्रहरीद्वारा बेवारिसे कार र काठ बरामद

सशस्त्र प्रहरीद्वारा बेवारिसे कार र काठ बरामद

वीरगन्ज, ११ फागुन । सशस्त्र प्रहरीले पर्साबाट बेवारिसे भारतीय गाडी बरामद गरि भन्सार बुझाएको छ । वीरगन्जको एकीकृत भन्सार जाँचचौकी आईसीपी प्रवेशद्वार नजिकै बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कार सशस्त्र प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा बुझाएको हो ।

फागुन ४ गते रातिदेखि नै आईसीपीको गेट नजिकै भारतीय नम्बर प्लेटको सेतो रंगको कार पार्किङ गरिराखेको सूचनाको आधारमा बुधबार दिउँसो १ः३० बजे सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरी निरीक्ष देवेन्द्र रोकाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले बेवारिसे अवस्थामा रहेको DL 5 E 5694  नम्बरको हुण्डाई कम्पनीको भारतीय कार चोरीको हुन सक्ने आशंकामा नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा १० लाख मूल्य कायम गरि दाखिला गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।

यस्तै सर्लाहीको इश्वरपु नगरपालिकाबाट सशस्त्र प्रहरीले अवैध गोलिया काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी छिन्नमस्ता महोत्तरीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक एकराज चौलागाई र रेञ्जर गंगा चौधरीको संयुक्त टोलीले इश्वरपुर नगरपालिका वडा नम्बर ५ सिद्धार्थ चोक स्थित घर पछाडि बारीमा लुकाई राखिएको ४० क्युफिट काठ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।