सानो पाईला संस्थाद्वारा नारायणी अस्पताललाई ६ थान भेण्टिलेटर प्रदान
वीरगन्ज, १५ बैशाख । नारायणी अस्पतालमा थप भेण्टिलेटर सेवा सुरु गरिएको छ । नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा सामुदायिक संस्था सानो पाइलाले नारायणी अस्पताललाई एक महिनाका लागि उपलब्ध गराएको ६ थान भेन्टिलेटरको व्यवस्था गरेको हो । सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले मंगलबार नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।
भेन्टिलेटर हस्तान्तरण गर्दै सचिव डा. तिवारीले अवस्था सामान्य नभए भेन्टिलेटरहरुको समायवधि थप गर्न सकिने बताउनुभयो । संक्रमितहरुको संख्या बढ्दै गए अस्पतालमा आवश्यक पर्ने थप स्वास्थ्य सामाग्रीको व्यावस्था गर्न सानो पाइला अग्रसर रहेको बताउनुभयो । सानो पाइलाले उपलब्ध गराएको भेन्टिलेटरहरु हाल कोभिडका बिरामीहरुका लागि उपयोगी रहेको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
उक्त भेन्टिलेटरहरु कोभिड आईसीयु र एचडियुमा प्रयोग गरिसकिएको उहाँले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास, डेप्युटी डाईरेक्टर डा. एनामुल हक, सानो पाइलाका सञ्चालन प्रमुख जय साह, कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ, स्रोत तथा परिचालन प्रमुख भाजु पटेलगायतकाको उपस्थिती रहेको थियो । यसअघि सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच दुई संस्थाका प्रतिनिधिले भेन्टिरलेटरको अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।