विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै, कोरोना महामारीले ५१७ पत्रकार पेशागत संकटमा
वीरगन्ज, २० बैशाख ।
आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारण गरेर दिवस मनाइँदैछ ।
यसैबीच प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेको छ । रिपोर्टर विदआउट बोर्डरले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल अघिल्लो वर्ष १ सय १२ औं स्थानमा रहेकोमा यो वर्ष ६ स्थान सुधार गरेर एक सय ६ औं स्थानमा पुगेको हो । एक सय ८० देश समावेश रहेको रिपोर्टका अनुसार छिमेकी देश भारत एक सय ४२ औं स्थानमा छ । नर्वे सबैभन्दा राम्रो प्रेस स्वतन्त्रता भएको देश बनेको छ । रिपोर्टर विदाउट बोर्डरले कोरोना महामारीको समयमा पत्रकारले गलत सूचनाको विरुद्धमा खोप जत्तिकै प्रभावकारी रुपमा काम गरिरहेको जनाएको छ । महामारीको जोखिमका बीचमा पनि संसारभरका पत्रकारले गलत सूचना रोक्न प्रयास गरिरहेको र सूचनाकै माध्यमबाट कयौँको ज्यान जोगाएको पनि खबरमा उल्लेख छ ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिनुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गर्नुभयो ।
महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यसवर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् । यस्तै ५८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेखअनुसार यस वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुर्व्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५१७ पत्रकार विस्थापनमा परेका छन् ।
सभामुख सापकोटाद्वारा शुभकामना व्यक्त
यसैबीच प्रेस स्वतन्त्रता दिवसको अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले कोरोना महामारीको बेलामा सञ्चारकर्मीहरुलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरुलाई समेत सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी रहेको उल्लेख गर्नुभएको छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा अग्रपंक्तिमा रहेर काम गर्ने दर्जनौं सञ्चारकर्मीहरुमा कोभिड संक्रमण भएको यसबाट सञ्चारकर्मीहरुको निधन समेत भएको प्रति दुःख व्यक्त गर्दै सभामुख सापकोटाले सजग भएर कार्यक्षेत्रमा खटिन सबै पत्रकारलाई आग्रह गर्नुभयो ।