वीरगन्ज नर्सिङ क्याम्पसका २२ जना विद्यार्थी र कर्मचारीमा कोरोना संक्रमण
ट्रिब्यून न्युज
वीरगन्ज, ३१ चैत । गतबर्ष कोरोना संक्रमणको इपीसेण्टर बनेको वीरगन्जमा फेरी संक्रमण बढ्दै गएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालमा सोमबार दिउँसो आएको रिपोर्ट अनुसार पर्सामा थप ४० जनामा कोरोना संक्रमण देखिएको छ ।
९५ जनाको नमूना स्वाब नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पर्साका ३७ र बाराका ३ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । संक्रमित हुने मध्य सबैभन्दा धेरै वीरगन्ज नर्सिङ क्याम्पसका विद्यार्थी र कर्मचारी रहेका छन् ।
वीरगन्ज नर्सिङ क्याम्पसका मात्रै अहिलेसम्म २२ जनालाई संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । यसअघि ३४ जनाको परीक्षण गर्दा १७ जना संक्रमित मध्य नर्सिङ क्याम्पसका २ जनामा संक्रमण भेटिएको थियो । त्यस्तै ६० जनाको परीक्षण गर्दा २८ जना संक्रमित मध्य वीरगन्ज नर्सिङ क्याम्पसका ५ जनामा संक्रमण देखिएको थियो ।
हिजो गरिएको ९५ जनाको पीसीआर परीक्षणमा ४० जना संक्रमित भेटिएका छन् । त्यस मध्य वीरगन्ज नर्सिङ क्याम्पसका १९ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ । यसरी तीन पटक आएको रिपोर्ट अनुसार वीरगन्ज नर्सिङ कलेजको मात्रै २२ जना संक्रमित भएका छन् । नसिंङ क्याम्पसको प्रमाणपत्र तह नर्सिङ दोश्रो बर्षमा अध्ययनरत विद्यार्थीहरु सबैभन्दा बढी संक्रमित भएका छन् ।
कोरोना संक्रमणको हटस्पट क्याम्पस बनेपछि विद्यार्थीहरुमा त्रास फैलिएको छ । क्याम्पस बन्द नगरिए कर्मचारी, शिक्षक शिक्षिका तथा छात्रावासमा बसेका सबैमा कोरोना संक्रमण फैलिने त्रास रहेको छ । विद्यार्थीहरुले अािर्थक सहयोग माग गरेपनि क्याम्प्स प्रमुख बाहिर रहेको भन्दै आर्थिक प्रमुखले सहयोग नगरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
यसैबीच वीरगन्ज नाकामा परीक्षणका क्रममा दुईजनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको झारखण्डबाट आएकी २८ वर्षीया महिला र वीरगन्ज– १३ का ३४ वर्षीय पुरुषमा एन्टिजेन पोजिटिभ पुष्टि भएको हो । झारखण्डबाट श्रीमान्लाई भेट्न आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महिलामा कुनै किसिमको लक्षण देखिएको छैन भने पुरुषलाई १०० डिग्री ज्वरो आएको छ ।हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले शुरुमा ती महिलाले एन्टिजेन परीक्षण गराउन नमानेको बताउनुभयो । हेल्थ डेस्कले संक्रमित फेला पारिसकेपछि व्यवस्थापनमा भने समस्या भइरहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । जिम्मेवार व्यक्ति नतोकिदिँदा आफूहरुलाई समस्या भएको उनीहरुले बताएका छन् ।
हिजो हेल्थ डेस्कमा ६० जनाको एन्टीजेन परीक्षण गरिएको छ । सीमामा जाँचमा खटिएका स्वास्थ्यकर्मीहरुले भने जनशक्ति अभाव भएका कारण काम गर्न निकै समस्या भएको गुनासो गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जनशक्ति थपेरै भएपनि हेल्थ डेस्कलाई व्यवस्थित गरिने बताउनुभयो ।