वीरगन्जमा बर्ड फ्लू भेटिएको कुखुरा नष्ट
वीरगन्ज महानगरमा वडा नम्बर १५ मा बर्ड फ्लु भेटिएको कुखुरा नष्ट गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही स्थित सागीर अन्सारीले सन्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्ड फलु देखिएपछि शुक्रबार नष्ट गरिएको हो ।
फर्ममा रहेका कुखुराहरु अचानक मर्न थालेपछि परीक्षण गर्दा कुखुरामा बर्ड फ्लु भेटिएको जिल्ला पशु क्यारेटाईनका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिनुभयो । बर्ड फ्लु नियन्त्रण जिल्ला समितिले बिहीबार नै कुखुरा नष्ट गर्ने निर्णय गरेपछि शुक्रबार नष्ट गरिएको हो ।
जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको
पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । बर्डफलु संक्रमण भेटिएको उक्त कुखुरा फर्मलार्इ सिल गरिएको फर्म वरपर निसंक्रमण पनि गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिनुभयो ।