पिउने पानीको पनि अवैध उपभोग, छपकैयामा भेटियो खानेपानी पाईपलाईनमा व्यापक चोरी
वीरगन्ज, ७ असार । वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा खानेपानी संस्थानबाट वितरण गरिएको पानी अनाधिकृत रुपमा धारा निकालेर प्रयोग गरेको पाईएको छ । खानेपानीको धारा निकालेर चोरी गरी अवैध रुपमा प्रयोग गरेको सूचनाको आधारमा खानेपानी संस्थान वीरगन्जबाट गएको अनुगमन टोलीले छपकैयामा खानेपानीको व्यापक चोरी गरेको पाईएको हो ।
संस्थानका वीरगन्ज प्रमुख इञ्जिनियर निरन महर्जन आफै आज अनुगमनमा जानु भएको हो । अनुगमनका क्रममा छपकैयाका १२ वटा भन्दा बढी घरधुरीमा खानेपानीको पाईपबाट अवैध रुपमा धारा निकालेर चोरी गरी खानेपानी प्रयोग गरेको पाईएको उहाँले बताउनुभयो । आज पहिलो दिनको अनुगमनमा मात्रै १२ वटा भन्दा बढी घरधुरीमा धारा चोरी गरेको पाईएको र अझै चोरीका धाराहरु फेला पर्ने संस्थानका प्रमुख महर्जनले बताउनुभयो ।
पहिले खानेपानीको धारा वितरण गर्दा घर घरमा धारा जडान नगरी चोेरी गरेर प्रयोग गरेको पाईएको हो । लामो समयको खडेरीका कारण चापाकलहरु सुकेर पानी आउन छाडेपछि छपकैया क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । खानेपानी संस्थानले वितरण गर्ने धाराको सदस्यता नै नलिई आफूखुशी धारा निकालेर पानी प्रयोग गर्नेहरुलाई खानेपानी संस्थान ऐन अनुसार कारवाही गरिने प्रमुख महर्जनले बताउनुभयो ।
खानेपानी संस्थान ऐनको दफा १८ मा खानेपानी संस्थानको अनुमति नलिई खानेपानीको पाइप लाइनबाट धारा जडान गर्न नहुने उल्लेख गरिएको छ । तर, छपकैयाका अधिकांश उपभोत्ताले खानेपानी संस्थानसँग अनुमति नलिई नै आफूखुशी पाईपलाईनबाट धारा जडान गरेको पाईएको प्रमुख महर्जनले बताउनुभयो । उनीहरुलाई अब ऐनको दफा १९ मा व्यावस्था अनुसार कारवाही गरिने पनि उहाँले बताउनुभयो ।