वीरगन्जबाट प्रकाशित ‘निष्कर्ष समाचार’ साप्ताहिकको विमोचन
वीरगन्ज, १ साउन । वीरगन्जमा पछिल्लो पटक प्रकाशनमा आएको एक साप्ताहिक पत्रिकाको विमोचन गरिएको छ । ‘निष्कर्ष समाचार’ साप्ताहिक पत्रिकाको आईतबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जारा र राजनीतिकर्मी रम्भा मिश्राले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
पत्रिका विमोचनपछि बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चार माध्यमको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चार माध्यमहरु जति धेरै हुन्छ त्यति नै धेरै नागरिकले अभिव्यक्ति स्वतन्त्रता पाउने र नागरिकले पनि विश्वसनीय सूचनाहरु प्राप्त गर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमहरुले नागरिकको विश्वसनीयता कायम राख्नका लागि सूचना सम्प्रेशषणमा भने तथ्यपरक र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले पत्रकारिताको नाममा पछिल्लो समयमा भईरहेको अस्वस्थ प्रतिस्पर्धा र एकले अर्काको अस्तित्व अस्वीकारले सञ्चार क्षेत्रलाई नै जोखिममा पारीरहेको बताउनुभयो ।
पत्रिकाका प्रकाशक शिवनारायण मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अुनप तिवारी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज कुमार पटेल, रम्भा मिश्रा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्साका कार्यालय प्रमुख शिवशंकर साहले गर्नुभएको थियो ।