पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु, चारजना घाईते
वीरगन्ज, १५ असार । आज (मंगलबार) बिहान पानीसँगै परेको चट्याङले पर्सामा ३ जनाको मृत्यु भएको छ । चट्यांगले १ जना सख्त घाइते र तीन जना सामान्य भएका छन् । चट्याङ लागेर पर्साको पटेर्वासुगौली गाउँपालिकामा दुईजना र जीराभवानी गाउँपालिकामा एकजनाको मृत्यु भएको हो ।
पटेर्वा सुगौली वडा नम्बर–४ पथरैयामा भैंसी चराउन गएका सोही वडाको देवरबाना बस्ने ५५ बर्षका रघुबिर यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । त्यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नम्बर–१ गदियानी बस्ने बर्ष २७ को रोसलान गदीको मृत्यु भएको छ । सोही स्थानका राजबली गदी भने चट्याङ्ग लागेर गम्भीर घाइते हुनु भएको छ ।
घाइतेको उपचारको लागि नारायणी अस्पतालमा पठाईएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिनुभयो । त्यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर–३ जितपुर बस्ने बर्ष ५० कि असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर मृत्यु भएको छ । जीरा भवानी गाउँपालिकाका चट्याङ लागेर तीनजना घाईते भएका छन् । चट्याङले मृत्यु भएका तीनै जनाको घटना स्थलको मुचुलका गरि शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याईने प्र्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।