वीरगन्जमा १४१ पीसीआर परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि, महानगरका मात्रै ५२ जना संक्रमित
वीरगन्ज, ७ बैशाख । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार बेलुकी १४१ जनाको स्वाब नमूना परिक्षण गर्दा ७८ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । ७८ संक्रमित मध्ये पर्सा जिल्लाको मात्रै ६२ जना छन् । ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ५२ जना संक्रमित रहेको डाक्टर दासले जानकारी दिनुभयो ।
पर्सा जिल्लाकै पर्सागढी नगरपालिकाका ३ जना , ठोरी र पकाहामैनपुर गाँउपालिकाका २÷२ जना तथा विन्दवासीनी , सखुवा प्रसौनी र कालीकामाइ गाँउपालिकाका १÷१ जनामा पनि संक्रमण भेटिएको हो । यस्तै बारा जिल्लाका १२ जना , सर्लाही जिल्लाका २ जना तथा बाँके र काठमाण्र्डौका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिनुभयो ।
वीरगन्जको नारायाणी अस्पतालमै आइतवार राति ९६ जनाको परिक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको थियो । वीरगन्जमा पछिल्लो १० दिनको अवधीमा (चैत २७ देखि बैशाख ६ सम्म) मात्रै ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । वीरगन्जमा पछिल्लो एक हप्ता यता दिनहु हुदै आएको परिक्षणमा जाँच गराएका मध्ये आधा जतिमा कोरोना संक्रमण भेटिने गरेको छ । हिजो बेलुकीको परिक्षणमा पनि परिक्षण गराएका मध्ये आधा भन्दा बढिमा संक्रमण भेटिएको हो ।
वीरगन्जमा अहिले ३२ जना संक्रमित अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा २३ जना र बयोधा अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर दासले जानकारी दिनुभयो । नारायणी अस्पतालमा १७ जना संक्रमित आइसियुमा र ६ जना संक्रमित आइशोलेसन वार्डमा उपचाररत रहेको उहाँले बताउनुभयो ।
वीरगन्जमा संक्रमण पुष्टि भएका कोरोनाका सामान्य लक्षण भएका संक्रमितहरुलाइ भने होम आइशोलेसनमा पठाउने गरिएको डाक्टर दासले जानकारी दिनुभयो । तर, होम आईशोलेसनमा रहेकाहरुको निगरानी गर्ने कुनै संयन्त्र नहुँदा अहिले उनीहरुबाट संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ५ जनाले ज्यान पनि गुमाइसकेका छन् ।