भारतीय नागरिकको मृत्यु भएपछि ११ जना पक्राउ
वीरगन्ज, ६ फागु । पर्साको कालिकामाई गाउँपालिका–१ तीनडोबियामा जन्ती आएका भारतीय नागरिकको बिहीबार राति मृत्यु भएपछि ११ जना पक्राउ परेका छन् । जन्तीमा आएका एकजना भारतीय नागरिकको गएराति मृत्यु भएपछि प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
तीनडोविया निवासी कमल पटेलको छोरीको विवाहमा भारत, बेतियाको शिवपुरी सतवरियाबाट जन्ती आएको थियो । अत्यधिक मदिरासेवनबाट शिवपुरी सतवरिया निवासी वकील पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा संलग्न रहेको आशङ्कामा प्रहरी चौकी भिस्वाले भारत, बेतियाको शिवपुरी सतवरिया निवासी कन्हैया पटेल, ओमप्रकाश साह, सिकेन्द्र पटेल, सोनकुमार पटेल, विनय पटेल, पिन्टु पटेल, अर्जुन पटेल, इन्द्रजीत पटेल, निपु पटेल, सिटु पटेल र राहुल पटेललाई पक्राउ गरी कारबाईको लागि इलाका प्रहरी कार्यालय, पोखरियाको जिम्मा लगाएको छ । जन्तीमा अत्यधिक मदिरासेवन गरी नाचगान गर्ने क्रममा वकिल बेहोश भएका थिए । सोही क्रममा उनको मृत्यु भएको प्रहरीको अनुमान छ ।
शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अचेत पटेलको सोही ठाउँमा मृत्यु भएपछि जन्तीले प्रहरीलाई खबर नगरी जन्ती आउनेहरूले बिआर २२ जिए ३४७० नम्बरको गाडीमा राखेर भारत लैजाने क्रममा भिस्वा प्रहरीले चेकजाँच गर्दा वकील मृत भेटिएका थिए । त्यसपछि प्रहरीले सो गाडीमा सवार ११ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।