बैशाख ३० गते निर्वाचन गर्ने सरकारको निर्णयले ४७० जनप्रतिनिधिको कार्यकाल छोट्टियो
वीरगन्ज, २४ माघ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगको सिफारिस अगावै स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । अब वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ ।
कानुनी र व्यवहारिक पक्ष मिलाउन वैशाख ३० गतेका लागि निर्वाचनको मिति तोकिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताउनुभयो । माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगले जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेको थियो । निर्वाचन आयोगसँगको परामर्शमा वैशाख ३० गते निर्वाचन गर्ने निर्णय लिएको मन्त्री बडूले बताउनुभयो ।
निर्वाचन आयोगले जेठ ४ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । हामीले वैशाख ३० मै निर्वाचन गर्ने निर्णय लिएको उहाँले बताउनुभयो । आयोगले स्थानीय निर्वाचनका लागि १२० दिन समय मागेको थियो । तर, सरकारले निर्वाचनको मिति तोक्न बिलम्ब गरेपछि आयोगले ९६ दिनमा निर्वाचन गराउनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामान्यतया १२० दिनको समय मागे पनि ९६ दिनमा चुनाव गराउन अयोग तयार गरेको बताउनुभयो ।
पाँच दिनअघि मिति सारियो
०७४ मा वैशाख ३१ गते पहिलो चरणको निर्वाचन भएको हिसाबमा ०७९ वैशाख ३० गतेका लागि निर्वाचनको मिति तोकिएको देखिन्छ । कानुनमन्त्री बडूका अनुसार ‘०७४ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ गते पाँच वर्ष पूरा हुन्छ ।
पाँच वर्षभित्र निर्वाचन गराउनु सबै कुराले राम्रो पनि हुने भएको र ‘वैशाख ३० नै ठीक छ भन्ने हाम्रो निष्कर्ष सरकारको रहेको उहाँले बताउनुभयो । निर्वाचन हुने भएपछि पाँच वर्ष पुगेकै दिन नयाँ जनप्रतिनिधिलाई कार्यभार सम्हाल्न गर्न सजिलो हुने उहाँको भनाई छ ।
चुनाव अगाडि सार्ने कुराले ४७० पालिकाका जनप्रतिनिधिको कार्यकाल भने छोटिएको छ । मन्त्री बडूले भने, ‘जेठ पाँचभित्र पुराना जनप्रतिनिधि विदा हुन्छन् । हामीले यसैमा टेकेर निर्णय लिएका हौं ।’ पहिलो चरणमा वैशाख ३१ मा निर्वाचन भएका बागमती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका जनप्रतिनिधिले मात्रमा पाँच वर्षे कार्यकाल पूरा हुनेछ ।