पर्सामा कांग्रेस र जसपा एक्लाएक्लै लड्ने, माओवादी र नेकपा 'एस' मौन 

पर्सामा कांग्रेस र जसपा एक्लाएक्लै लड्ने, माओवादी र नेकपा 'एस' मौन 

वीरगन्ज । स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन दलहरुको तालमेल मिल्न नसक्दा पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अलग अलग निर्वाचन लड्ने भएका छन् । देशभरमै चर्चामा रहेको मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज सहित सबै स्थानीय तहमा दुई पार्टीले अलग अल लड्ने भएका हुन् ।

काँग्रेसका जिल्ला सभापति र जसपाका जिल्ला अध्यक्षले हिजो बेलुकी संयुक्त विज्ञप्ति जारी गरेर चुनावी गठबन्धन नगर्ने सहमति गरेका हुन् । काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगर सहित पर्साका सबै १४ वटा स्थानीय तहमा काँग्रेस र जसपाले छुट्छा छुटटै प्रतिस्पर्धा गर्ने सहमति भएको उल्लेख छ ।

स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै दुवै दल जसपा र काँग्रेसले छुटटा छुटटै मित्रवत  चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको दुवै दलका जिल्ला अध्यक्षले बताएका छन् । वीरगन्ज महानगर सहित पर्साका सबै पालिकामा छुट्टा छुटटै चुनावी प्रतिस्पर्धा गर्ने सहमति गरेपछि अब पर्सामा गठबन्धनको सम्भावना सकिएको नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले बताउनुभयो । जिल्लाका नेता कार्यकर्ताहरुको मनोभावना बुझेर यो सहमति गरिएको उहाले बताउनुभयो ।

जसपा अध्यक्ष यादवले स्थानीय स्तरमा तालमेल हुन नसक्ने देखिएपछि वीरगन्ज महानगर सहित जिल्लाका १४ वटै पालिकामा छुट्टा छुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताउनुभयो । जसपाका जिल्ला नेताहरुको बैठकमा भएको निर्णय अनुसार नै पर्सामा गठबन्धन नगर्ने सहमति गरिएको यादवले बताउनुभयो ।

केन्द्रमा सत्तागठबन्धन दलहरुबीच भइरहेको तालमेल सम्बन्धि छलफलमा वीरगन्ज महानगर जसपाको भागमा पर्ने समाचार सार्वजनिक भएपछि काँग्रेसका स्थानीय नेता कार्यकर्ताले त्यसको चर्को विरोध गर्दै आएका थिए । गत बुधबार बसेको काँग्रेस जिल्ला कार्य समितिको बृहतर बैठकले वीरगन्ज सहित पर्सा जिल्लाका सबै १४ पालिकामा काँग्रेसले एक्लै चुनाव लड्ने निर्णय नै गरेको थियो ।

त्यहि दिन वीरगन्जमा काँग्रेसका क्षेत्रीय सभापति , नगरसभापति र महाधिवेशन प्रतिनिधीहरुले पनि पत्रकार सम्मेलन नै गरेर केन्द्रले जबरजस्ति गठबन्धन गरे विद्रोह गर्ने चेतावनी दिएका थिए । २०७४ को निर्वाचनमा वीरगन्ज महानगर सहित ७ पालिकामा जसपाले जितेको थियो । काँग्रेसले भने दुइ नगरपालिका र १ गाँउपालिका गरि ३ वटा पालिकामा मात्र जितेको थियो ।

गठबन्धन दल मध्येका नेकपा माओवादी केन्द्र र नेकपा एस भने अहिले मौन रहेका छन् । केन्द्रमा गठबन्धन रहेकोले तल्लो तहसम्म गठबन्धनमै स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क रहेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने कांग्रेस र जसपाबीच भएको सहमतिको विषयमा केही बोलेको छैन ।