माओवादीबाट तीन मन्त्रीको नाम पक्का, एमालेबाट पर्साका राजकुमार गुप्ता पनि राज्यमन्त्री बन्दै

माओवादीबाट तीन मन्त्रीको नाम पक्का, एमालेबाट पर्साका राजकुमार गुप्ता पनि राज्यमन्त्री बन्दै

वीरगन्ज, ३ माघ । आज मन्त्रीमण्डले पूर्णता पाउने भएको छ । दिउँसो एकबजे नयाँ नियुक्त हुने मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम तय गरिएको छ । आज नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । अब तीन मन्त्री पठाउनुपर्छ ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो । एक नेताका अनुसार दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री, भोजपुरबाट निर्वाचित सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ ।

त्यस्तै तेस्रो मन्त्रीमा अमनलाल मोदीको नाम लगभग पक्का भएको छ । अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउनु हुनेछ । 

त्यस्तै आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् । हिजो  बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो ।

एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै  जना यसअघि मन्त्री बनेका थिएनन् । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ । डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

त्यसैगरी दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको एमाले उच्च स्रोतले बताएको छ । यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् ।

पौडेलबाहेक अरू मन्त्रीको जिम्मेवारी तोकिएको छैन । आज उनीहरूको जिम्मेवारी समेत तोकिने छ । स्रोतका अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने भएको छ ।