पप्पु कन्स्ट्रक्सनको बदमासी रोकिएन, सडक नबनाएको भन्दै युवाहरुले जलाए पुत्ला

पप्पु कन्स्ट्रक्सनको बदमासी रोकिएन, सडक नबनाएको भन्दै युवाहरुले जलाए पुत्ला

वीरगन्ज, २३ जेठ । नेपालको निर्माण व्यवसाय क्षेत्रमा बदनाम कमाएको पप्पु कन्स्ट्रक्सनको विरुद्धमा पर्साका स्थानीय युवाहरु आन्दोलित भएका छन् । निर्माणको ठेक्का लिएर राज्यको रकम होल्ड गरेर दुई वर्षसम्म पनि सडक निर्माण नभएपछि पीडित भएका स्थानीयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार, ठेकेदार हरिनारायण रौनियार र शहरी विकासका डिभिजन कार्यालय पर्साको प्रमुखको आईतबार पुत्ला जलाएका छन् । 

वीरगन्ज ड्राईपोर्ट पथलैया व्यापारिक मार्गको बीरगन्ज महानगरपालिका वडा नं. २० अपौनी र हरपतगञ्जका बासिन्दाले पप्पुको बदमासीको विरोध गर्दै स्थानीय युवाहरुले पुत्ला जलाएका हुन् । बीरगञ्जको ड्राइपोर्टदेखि बीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले अहिलेसम्म पनि सडक नबनाएको स्थानीयले बताए ।

समयमा सडक नबनाउँदा उक्त बाटो भएर आवतजावत समेत समस्या हुने गरेको स्थानीयहरुले बताएका छन् । पप्पु कन्स्ट्रक्सनले ३१ फिटको सडक निर्माण गर्ने भन्दै बाटोमा पर्ने घरहरु भत्काउन लगाएर अलपत्र छोडेको नेकपा एमालेका युवा नेता परागले बताउनुभयो । २०७५ सालमा दुई वर्ष भित्रमा काम सक्ने गरी ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले सो ठेक्का लिएर अर्को ठेकेदारलाई पेटी ठेक्का दिएको छ । जिम्मा दिएको पेटी ठेकेदारले काम नगरेको र आफुले दबाब दिँदा पप्पु कन्स्ट्रक्शनले रकम नदिएको भनेपछि दुई ठेकेदारको विवाद अदालतसम्म पुगेको छ ।

सोही विवादलाई लिएर पेटी ठेकेदारले पप्पुले रकम नदिएको भन्दै गत कात्र्तिकमा नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन समेत गरेका थिए । पप्पुको विरोधमा प्रदर्शन गर्ने र पुत्ला जलाउने स्थानीय युवाहरुले तयारी गरेको जानकारी पाएपछि आईतबार बिहान स्थानीयलाई रोक्न पुगेका पप्पु कन्स्ट्रक्सनका कर्मचारी र गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी पुगेपछि स्थानीयले पप्पुका कर्मचारी र गाडीलाई छोडेका थिए ।