पदमा रहेपनि नरहेपनि पत्रकारिताको विकासमा निरन्तर सहयोग रहन्छ : नगर प्रमुख सरावगी
वीरगन्ज, १५ माघ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आफू पदमा रहेपनि नरहेपनि वीरगन्जको व्यावसायिक पत्रकारिता विकासमा साथ र सहयोग सदैव रहने बताउनु भएको छ ।
स्व. विन्दुदेवी स्मृति प्रतिष्ठानद्वारा स्थापित स्व.विजयप्रकाश विन दोस्रो स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सरावगीले इतिहासलाई जीवित राख्न अग्रजहरुको योगदानको सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।
समाजमा विशिष्ट योगदान गरेका व्यक्तिहरुको सम्मान र सामाजिक काममा वीरगन्ज महानगरपालिकाले साथ र सहयोग गर्ने प्रतवद्धता व्यक्त गर्दै आफू पदमा रहेपनि नरहेपनि वीरगन्जको व्यावसायिक पत्रकारिताको विकासका लागि सधै साथ र सहयोग रहने बताउनु भएको हो । उहाँले महानगरपालिकाले जस्तै अन्य स्थानीय तहहरूले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
अहिलेसम्म आफूले गरेको काममा सञ्चार माध्यमहरुले कुनै नकारात्मक टिकाटिप्पणीहरु नगरेको र गरेपनि त्यसले आफूलाई सकारात्मक काम गर्नलाई प्रेरित गरेको बताउनुभयो । उहाँले वीरगन्ज महानगरपालिकाले सञ्चार माध्यमहरुको विकास र सम्वर्ध्ननका लागि पहिलो पटक सञ्चार ऐन ल्याएको बताउदै यसले वीरगन्जको पत्रकारिताको विकास र वीरगन्जको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
स्व. विन्दुदेवी स्मृति प्रतिष्ठाले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अग्रज पत्रकार पुरूषोत्तमसिंह भट्टराईलाई हजार १ सय ११ रूपैंया नगद सहित दोस्ल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्व.विन्दुदेवी पाण्डे र स्व.विजयप्रकाश विनले पर्साको पत्रकारिता क्षेत्रमा पु-याएको योगदानको चर्चा र स्मरण गरेका थिए । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने,
पूर्व केन्द्रीय सदस्य महेश दास, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदी, प्रतिष्ठानका सल्लाहकार सुदर्शनराज पाण्डे, सम्मानित व्यक्ति पुरूषोत्तम भट्टराई,
समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन प्रतिष्ठानकि महासचिव माधुरी महतो र स्वागत प्रतिष्ठानका सल्लाहाकार सरोज खड्काले गर्नुभएको थियो ।